
अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)मा नेपाल सहभागी नहुने बारे सरकारले पत्र नपठाएको भन्दै नेकपा(एमाले)का सांसद भीमबहादुर रावलले सरकारलाई सभामुखसँग सरकारलाई रूलिङ गर्न माग गरेर संसदको रोस्टम कब्जा गरेपछि संसद बैठक नै स्थगित भएको छ ।
प्रतिनिधिसभाको बैठकमा रावललाई बोल्ने समय उपलब्ध भएपछि संसदको रोस्ट्रममा पुगेका थिए ।
रोस्ट्रमबाट उनले यसअघि नै गृहमन्त्री बालकृष्ण खाण र परराष्ट्रमन्त्री डा. नारायण खड्काले एसपीपीमा सहभागी नहुने भन्ने जानकारी संसदमा गराएको र सरकारले पनि निर्णय गरेको तर अहिलेसम्म पत्र नपठाएको भन्दै त्यसका लागि सभामुखबाट सदनमार्फत सरकारलाई रुलिङ गर्न माग गरे ।
सभामुखले रावलको विषयमा सदन र सरकारलाई ध्यानाकर्षण भएकाले आफ्नो सिटमा गएर बस्न पटक पटक अनुरोध गरे तर रावल मानेन् । उनले सदनबाट सरकारलाई रुलिङ नभएसम्म आफ्नो माग रोस्ट्रमबाट जारी राख्ने बताइरहे ।
आफ्नो आवाज सम्पूर्ण नेपालीको आवाज भएको भन्दै उनले रूलिङ नहुँदासम्म रोस्ट्रम नछाड्ने भनेर अड्डी कसिरहे र उनी रोस्ट्रममा उभिइरहे ।
संसदको आजको बैठकमा ग्लोबल ग्रिनग्रोथ इस्टिच्यूटको सहभागितामूलक सदस्यको रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्तावमा छलफल भइरहेको थियो ।
सो प्रस्तावमा सांसदहरू शक्तिबहादुर बस्नेत र पूर्णाकुमारी सुवेदीले आफ्नो धारणा राखेका थिए । त्यसैबारे धारणा राख्न रावल रोस्ट्रममा पुगेका थिए । तर, उनले एसपीपीको विषय उठाएर रोस्ट्रम कब्जा गरिरहे ।
सभामुख अग्निप्रसाद सापकोटाले पटक–पटक रावललाई आशन ग्रहण गर्न आग्रह गर्दा उनले मानेनन् । रावलले रुलिङ माग्ने र सभामुख सदनमार्फत सरकारलाई रुलिङ गर्न तयार नभएपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेपछि मात्रै रावल रोस्ट्रमबाट ओर्लिएका थिए ।