२७ जेठ २०८३, बुधबार

सरसर्ती २४ घण्टा : नागरिकता विधेयक पारितदेखि मौद्रिक नीति सार्वजनिकसम्म

सरसर्ती २४ घण्टा : नागरिकता विधेयक पारितदेखि मौद्रिक नीति सार्वजनिकसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ–
००००
प्रतिनिधिसभाबाट नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९ बहुमतले पारित भएको हो । गृहमन्त्री बालकृष्ण खाँणले शुक्रबार राति सदनमा सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । जसलाई सभामुख अग्नि सापकोटाले निर्णयार्थ प्रस्तुत गर्दा हुन्छ भन्ने सदस्यहरुको बहुमत देखिएपछि विधेयक बहुमतले पारित भएको हो ।
सो अघि  बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको सो विधेयकमाथि दिनभर दफावार छलफल भएको थियो । यो विधेयक प्रतिनिधिसभा बैठकले ‘फास्ट ट्रयाक’बाट पारित गरेको हो ।
००००
नेपाल राष्ट्र बैंकले शुक्रवार चालू आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । जसमा बैंकले कर्जा विस्तारमा कडाइ गरेको छ । बैैंकहरूलाई जम्मा १२ प्रतिशतको सीमाभित्र मात्रै कर्जा विस्तार गर्न पाउने व्यवस्था गरेको छ । यसले चालू आवमा बैैंकहरूले अधिक कर्जा विस्तार गर्न पाउँदैनन् । 
बैंकहरू मर्जरमा जाँदा हाल मर्जर प्रक्रिया पूरा भएर एकीकृत कारोबार नभएसम्म रोकिने गरेको शेयर कारोबार भने अब खुला हुने भएको छ । मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको शेयर रोक्का नगर्ने नीति अबलम्बन गरेको छ ।
००००
चालू आर्थिक वर्षदेखि मर्जर तथा प्राप्तिमा शेयर रोक्का नहुने भएको छ । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का नहुने व्यवस्थालाई हटाएर धितोपत्र बोर्डले गर्ने व्यवस्थालाई अबलम्बन गर्ने भएको छ । 
००००
मर्जर तथा प्राप्तिमा गई यही २०७९ पुस मसान्तसम्म एकीकृत कारोवार गर्ने बैंक तथा लघुवित्त वित्तीय संस्थाले मात्र राष्ट्र बैंकले उपलब्ध गराउने छूट सुविधा पाउने भएका छन् ।
००००
मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक कसिलो राखिएको राष्ट्र बैंकले जनाएको छ । कोभिड– १९ को समयमा गरिएको सहज नियामकीय व्यवस्थाहरूलाई क्रमशस् कटौती गर्दै लगिने गभर्नर अधिकारीले बताए ।
००००
गत आर्थिक वर्ष २०७८–७९ मा नेपालका बैंक तथा वित्तीय संस्थाहरूले लक्ष्यभन्दा ३ प्रतिशत कम कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिमार्फत १९ प्रतिशतको कर्जा प्रवाहको सीमा दिएको भए पनि १६ प्रतिशत मात्रै भएको नेपाल राष्ट्र बैंकका अधिकारीले बताए । 
००००
पछिल्लो २४ घण्टामा मुलुकभर ४५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कूल ३ हजार ८३८ नमूना परीक्षण गर्दा ४५६ जना नयाँ संक्रमित थपिएका हुन् । 
पीसीआर विधिबाट २ हजार १६८ जनाको नमूना परीक्षण गर्दा ३८४ जना र १ हजार ६७० नमूना एण्टिजेन विधिबाट परीक्षण गर्दा ७२ जनामा संक्रमण पुष्टि भएको हो ।
००००
राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको नागरिकता विधेयक आपत्तिजनक रहेको बताएका छन् । उनले प्रत्येक नेपालीले सहज र सरल रुपमा नागरिकता पाउनुपर्ने बताउँदै वैवाहिक अंगीकृतमा सन्दर्भमा नेपालमा विवाह गरेर आएपछि निरन्तर सात वर्षसम्म बसोबास गरेपछि मात्रै नागरिकता जारी गर्नुपर्ने बताए ।  उनले सो अवधिका लागि राजनीतिक बाहेकका अन्य अधिकार प्रयोग गर्न पाउने गरी आवासीय अनुमति पत्र दिने प्रावधान कायम गरिनुपर्ने भन्दै अहिले संसदमा प्रस्तुत विधेयक आपत्तिजनक भएको समेत बताएका छन् ।
००००
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२२ को नोभेम्बरदेखि कतारमा सुरु हुने विश्वकप फुटबल प्रतियोगिताका लागि नेपाली श्रमिक लैजान अनुमति दिएको छ । प्रतियोगिता अवधिभर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेकाले मन्त्रालयले अनुमति दिएको हो ।
सो अवधिका लागि सरकारले नेपाली श्रमिक पठाउँदा सबै प्रक्रिया पूरा गरेर पठाउने निर्णयसमेत गरेको छ । काम नै छोटो अवधिका लागि पठाउने भएकाले उनीहरुको श्रम स्वीकृति प्रदान गरेर नै पठाउने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा रोजगार व्यवस्थापन महाशाखाका प्रमुख राजीव पोखरेलले जानकारी दिए ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूको जोडबलमा नै नागरिकताविहीन नेपाली नागरिकले नागरिकता पाउन लागेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले पटकपटक नागरिकता विहीनलाई नागरिकता दिलाउने प्रतिबद्धता गरेको स्मरण गरे।
००००
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा शनिवार अस्ट्रेलियाको भ्रमणमा जाने भएका छन् । उनलाई शुक्रवार सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको छ । 
उनी साउन ९ देखि ११ सम्म अस्ट्रेलियन डिफेन्स फोर्सको संयोजकत्वमा युएस इन्डो प्यासाफिक कमाण्डले सिड्नीमा आयोजना गर्न लागेको चिफ अफ डिफेन्स कन्फरेन्स २०२२ मा सहभागी हुन जान लागेका हुन् ।
००००
अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापालाई नियुक्त गरेको छ ।
आगामी भदौ २१ देखि असोज ३ गतेसम्म नेपालमै आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि एन्फाले शुक्रवार थापालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । प्रशिक्षक थापाले यसअघि पनि महिला टोलीलाई प्रशिक्षण गराइसकेका छन् । त्यस्तै एन्फाले महिला टोलीको टिम म्यानेजरमा वृन्दा देवानलाई नियुक्त गरेको जनाएको छ ।
००००
विदेशमा गम्भीर बिरामी परेका नेपालीको उद्धार गर्न कार्यदल गठन गरिएको छ । वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा पुगेर गम्भीर घाइते वा बिरामी भई अस्पतालमा उपचाररत नेपालीको अवस्थाबारे जानकारी लिन कार्यदल गठन गरिएको हो ।
००००
प्रहरी प्रधान कार्यालयले ३२ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को पदस्थापन गरेको छ । साउन ३  गते बढुवा भएका एसएसपीहरुलाई प्रहरी प्रधान कार्यालय सरुवा गरेको हो ।
००००
२१ जिल्ला न्यायाधीश पदका लागि २ सय २ जनाले आवेदन दिएका छन् । न्याय परिषदको असार २४ गते बसेको बैठकले २१ जना जिल्ला न्यायाधीश नयुक्तिको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । 
सोही निर्णयअनुसार न्याय परिषद्को सचिवालयले असार २७ गते ७ दिने सूचना जारी गर्दै आवेदन माग गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्