
नेपाल किसान मजदुर पार्टी (नेमकिपा) अध्यक्ष नारायणमान बिजुक्छेले अहिलेको सत्तारुढ दलहरू जनताको विरुद्धमा गएको आरोप लगाएका छन् ।
शुक्रवार पोखरामा पत्रकारसँग भेटघाट कार्यक्रममा उनले यस्तो बताए ।
राजनीतिक पार्टीहरू चुनावअघि जनतामाझ लगेका घोषणापत्र कार्यान्वयन गर्नमा नलागेको उनले बताए । अध्यक्ष बिजुक्छेले चुनावमा गठबन्धन गर्नुभन्दा पहिले चुनावी घोषणापत्र आवश्यक रहेको बताए ।
उनले भने, ‘चुनावलाई कसरी लैजाने ? देशमा ती पार्टीहरूको बहुमत आयो भने सरकारमा गयो भने के काम जनताका निम्ति गर्ने ? देशको निम्ति गर्ने त्यो स्पष्ट भाषामा आउन जरुरी छ ।’
उनले अहिलेका कम्युनिस्ट पार्टीहरू जनताको अभिमतलाई कुल्चिएर, जनताको आदेशलाई उल्लंघन गरेर कहिले कांग्रेससँग र कहिले राप्रपासँग मिल्ने गरेको भन्दै यो सिद्धान्त विपरीतको कुरा भएको बताए ।
अध्यक्ष बिजुक्छेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै सत्ता सञ्चालनको कुरा दिल्लीमा नभई जनताको बीचमा हुनुपर्ने बताए ।