भदौ १४, २०८०
विज्ञान र सूचना प्रविधिमा आएको तुफानी क्रान्तिले भविष्यमा मान्छेको प्रजाति पनि प्रविधिमय बन्नेछ । आधुनिक मिडियालाई परम्परागत भन्दै न्यु मिडियामा आकर्षित मान्छे विस्तारै हजारौं, लाखौं माइलको फिजिकल यात्राका रोमाञ्चक...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घोषित लक्ष्य प्राप्त गर्न वैध उपायहरू अवलम्बन गर्छ । आवश्यक पर्दा हिंसा वा बलको प्रयोग गर्दछ र परिस्थितिलाई आफ्नो काबुमा राख्दछ ।
राजनीतिले आफ्ना लागि आवश्यक सबै किसिमका कानूनी प्रबन्धहरू नागरिक स्वीकृतिमा हाँसिल गर्दछ । त्यसको सदुपयोग गर्दछ र मानवीय विकासमा श्रेष्ठता हाँसिल गर्दछ । अनि सच्चा राजनीतिकर्मी भनेका त्यस्ता पौरखी, तपस्वी या साधक हुन् जसलाई समाजले निशंकोच अनुशरण गर्दछ र आफ्नो आदर्श मान्छ ।
समाजको 'रोल मोडल' या अनुकरणीय पात्र हुन्, राजनीतिकर्मी । संसारमा यसका धेरै दृष्टान्तहरू छन्, तर नेपालजस्ता देशमा भने राजनीति गर्न निर्लज्ज हुनुपर्ने भएको छ । यसका एकपछि अर्को नमूना देखिन थालेका छन् । सामान्य मानिसले कल्पना समेत गर्न नसक्ने काम राजनीतिक मानिसहरूले गर्न थालेका छन् । नेपालमा आदर्श राजनीति गर्नेहरूले काम गर्ने पर्याप्त अवसर कहिल्यै पाएनन् र प्राप्त अवसरमा समेत लामोसमय टिक्न सकेनन् ।
जनताले बहिष्कार गर्नुपर्ने राजनीतिकर्मीहरूचाहिँ राजनीतिमा वर्षौंदेखि हालीमुहाली गरिरहेका छन् । वर्षौंसम्म राज्यको जिम्मेवारीमा बसेर पनि सिन्कोसम्म भाँच्न नसक्ने अर्थात् जनताको मन जित्न नसक्ने राजनीतिकर्मीहरू जताततै देखिन्छन् । तिनैले जनतालाई बारम्बार उपदेश दिइरहेका हुन्छन् । जनताको सम्मान र विश्वास गुमाइसकेर पनि अझ लोकप्रिय रहेको स्वाङ गरिरहेका देखिन्छन् ।
हाम्रो शाष्त्रले भनेको छ- एकं लज्जा परित्यज्जे,सर्वत्र विजयी भवेत ।
एउटा लाज परित्याग गरेपछि सबैतिर विजय प्राप्त गर्न सकिन्छ । अर्थात्, निर्लज्ज हुन सके सबै थोक पाइन्छ । हाम्रो देशले निर्णायक ठाउँमा पुगेका निर्लज्जहरूको 'राजनीतिक ट्राफिक जाम' झेलिरहेको छ ।
यो शास्त्रीय भनाइलाई किसुनजी बारम्बार दोहोर्याइरहनुहुन्थ्यो । राजनीतिभित्रको विकृतिबारे उहाँ भलीभाँति परिचित हुनुहुन्थ्यो र साह्रै दिक्दार पनि । उहाँले राजनीतिलाई स्वच्छ राख्न जिन्दगीभरी सघर्ष गर्नुभयो । सुशील कोइराला अर्को दृष्टान्त हुनुहुन्थ्यो । सरलताका लागि कम्युनिस्ट नेता मनमोहन अधिकारी समेत स्मरणीय हुनुहुन्छ ।
भारतका पूर्व प्रधानमन्त्री गुलजारीलाल नन्दाले एउटा सामान्य कोठामा जिन्दगी गुजारे । भनिन्छ, लालबहादुर शाष्त्री भ्वाङ परेको कमिज लगाउँथे । यी प्रसंगहरूले राजनीतिलाई पवित्र र समर्पित क्षेत्रको रूपमा चित्रण गर्दछ । हिजो मात्र होइन आज समेत विश्वका धनी र शक्तिशाली देशका राजनीतिज्ञहरूको जीवनशैली अनुकरणीय छ । तर हाम्रो अवस्था के छ त ? नेपालको राजनीतिमा देखिएको अनुशासनहीनता र निराशालाई निराकरण गर्ने कसरी ? आजको ज्वलन्त प्रश्न यही हो ।
ग्रिक दार्शनिक एरिस्टोटल 'अरस्तु'लाई राजनीति शास्त्रका जनक मानिन्छ । उनी महान दार्शनिक तथा विचारक हुन् । अरस्तुका गुरु प्लेटो इतिहासकै प्रथम राजनीतिक विचारक हुन् । तर प्लेटका विचारहरू काल्पनिक र कोरा आदर्शवादी सावित भए । अरस्तुका विचारहरूले भने राजनीति शास्त्रको जग बसाल्यो र विचारबाट विज्ञान बनायो । राज्यका अंगहरू, संविधान र कानून, शिक्षा र प्रशासन, न्याय पद्दति, सुरक्षा, सरकारको जिम्मेवारी तथा कर्तव्यका सम्बन्धमा उनले संसारलाई प्रथमपटक प्रशस्तै बताए । यसैबाट आधुनिक लोकतन्त्रले आफूलाई प्रशिक्षित गरेको हो ।
त्यसैले राजनीतिमा के गर्नुहुन्छ, के गर्नु हुँदैन र जनताप्रतिको राज्यको जिम्मेवारी र कर्तव्य के हो भन्ने कुराको हेक्का सरकारमा बस्नेहरूलाई हुनुपर्छ । आजसम्मका गतिविधिहरू निराशाजनक छन् । यसलाई आशामा बदल्न आगामी राजनीतिले गम्भीर चासो राख्नुपर्दछ ।
जनता सन्तुष्ट नभइकन राजनीतिले सफलता प्राप्त गर्दैन । नेतृत्वको सफलता पनि जनताको आत्मसन्तुष्टिले निर्धारण गर्दछ । प्लेटोले परिकल्पना गरेका शासक त असम्भव नै छ, कम्तिमा अरस्तुले देखाएको बाटोको केही अंश मात्रै भए पनि अनुशरण गर्न सके वर्तमान राजनीतिले थोरै भएपनि त्राण पाउँथ्यो ।
आदर्श र सिद्धान्तलाई व्यवहारमा हुबहु उतार्न सकिँदैन । तर, यसको अर्थ त्यो होइन कि पूर्ण व्यवहारवादी हुनुपर्छ । यस सन्दर्भमा बीपीको विचार मननीय छ । उहाँ भन्नुहुन्छ, 'कुनै संस्था या राजनीतिक दल आफ्नो विचार र सिद्धान्तबाट टाढिएर व्यवहारवादी भयो भने अन्ततः अवसरवादमा परिणत हुन्छ र त्यो आत्मकेन्द्रित हुन्छ । यसले संस्थाको मूल चरित्रलाई प्रतिस्थापन वा परित्याग गर्दछ र वैयक्तिक स्वार्थमा लिप्त हुन्छ । त्यसैले हाम्रो अधिकतम प्रयत्न आफ्नो विचार र सिद्धान्तको मौलिकता जोगाउँदै अघि बढ्ने हुनुपर्छ अन्यथा अवसरको भेलले यति टाढा पुर्याउँछ कि वास्तविक पहिचान समेत बिलुप्त हुन पुग्छ ।
आमनिर्वाचनको घोषणा
भर्खरै सरकारले आम निर्वाचनको घोषणा गरेको छ । निर्वाचनमार्फत नै नयाँ सरकार गठन हुन्छ र त्यही सरकारले नेपालको राजनीतिलाई अघि बढाउँछ । आजसम्म राजनीति जे गर्न पनि छूट पाउने झूटैझूटले भरिएको क्षेत्र हो भन्ने आमबुझाइ रहिआएको छ । राजनीतिको यस्तो छवि राजनीतिलाई विकृत बनाएका गलत पात्रहरूले निर्माण गरेका हुन् । नीतिहरूमध्ये श्रेष्ठ र समाजलाई डोहोर्याउने हैसियत भएको राजनीतिलाई वैयक्तिक हितमा दुरूपयोग गरिरहेका निर्लज्ज पात्रहरूका कारण जनतामा चरम निराशा व्याप्त छ । यसको अन्त्य गरेर राजनीतिको छवि कसरी सुधार्ने भन्ने चिन्ता मुलुकभर देखिन्छ । यस्तो बेलामा आमनिर्वाचन हुँदैछ ।
स्थानीय निर्वाचनपश्चात् पुनः पाँच लाख जति नयाँ मतदाता थपिएका छन् । पुराना मतदातामा त दिक्दारी छ नै नयाँ मतदाताहरूमा देखिएको आक्रोश झनै विस्फोटक छ । यस्तो मनोवैज्ञानिक अवस्थाबाट गुज्रिरहेका मतदाताहरूले कसलाई मतदान गर्लान् भन्न गाह्रो छ । यसका लागि दलहरूसँग सुस्पष्ट मार्गचित्रसहितको भरपर्दो कार्यसूची हुनुपर्छ । नयाँ मतदाताहरू राज्यसँग पटक्कै आश्वस्त छैनन् । उनीहरू विश्वका उन्नत देशका नेतासँग नेपालका नेताहरूको तुलना गर्दछन् र झन् निराश हुन्छन् । यस्तो अवस्था कसरी बदल्ने ? प्रश्न छ- अवस्था बदल्ने कि नेता बदल्ने ? यो कुरा नबुझे नेता बदल्नुपर्ने हुनसक्छ । नेता बदल्ने आमचुनावले हो र चार महिनापछि चुनाव हुँदैछ । होश पुर्याउनुपर्ने नेताले हो, मतदाताले होइन ।
दलहरूले ०६२/०६३ को ऐतिहासिक जनआन्दोलनका दौरान भविष्यमा कहिल्यै गल्ती नगर्ने र त्यो आन्दोलन नेपालको इतिहासमा अन्तिम आन्दोलन भएको उद्घोष गरेका थिए । के त्यसयता सबै ठीकठाक भयो त ? दलहरूको आनीबानीमा सुधार आयो त ? चित्त बुझाउने ठाउँ छ कि छैन ? त्यसयताका पन्ध्र वर्ष कसरी बिते ? यसको वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने अवस्था छ ।
आमनिर्वाचन दलहरूको समीक्षा यज्ञ हो । समयचेतना आकाशिएको छ । मूलतः राजनीतिले जनताको जीवनमा तात्विक फेरबदल ल्याउनुपर्छ । संविधान लेखनबाहेक यस अवधिमा कुनै गतिलो काम भएन । जनताको जीवनस्तर माथि उठेन । देशको आर्थिक अवस्थामा सुधार आएन । नयाँ उद्योगधन्दा खुलेनन् । बेरोजगारी घटेन । सुकुम्वासी समस्या समाधान भएन । वैदेशिक सम्बन्धमा सुधार आएन । ऋण मात्रै अचाक्ली बढ्यो ।
भौतिक विकासमा कुनै प्रगति भएन । शिक्षा क्षेत्रका विकृति हटेनन् । जनताको स्वास्थको जिम्मा सरकारले लिएन । आज पनि उपचार नपाएर नेपालीहरूको अकालमृत्यु हुने गरेको छ । गरीब किसान, श्रमिक र बेरोजगारहरूको जीवन कष्टकर छ । यस अवधिमा संसारका अरू देशहरू कहाँ पुगे ? छिमेकी चीन र भारतले आफूलाई माथि उठाएर दुनियाँको ध्यान खिचिरहेका छन् ।
तसर्थ कम्तीमा आगामी निर्वाचन नेपालको उन्नतिको प्रस्थानबिन्दु हुनुपर्छ । निर्वाचन परिणामले देशवासीमा उत्साहको सञ्चार गराउन सक्नुपर्छ । यसका लागि हरेक दलको नेतृत्व सचेत र इमान्दार हुनुपर्छ । आश गर्ने धेरै ठाउँ त छैन तथापि खबरदारी गरिरहनु आमनेपालीको कर्तव्य र दायित्व दुवै हो । ३२ वर्ष उपलब्धिमूलक हुन सकेन । अबको समय खेर नजाओस् ।
विज्ञान र सूचना प्रविधिमा आएको तुफानी क्रान्तिले भविष्यमा मान्छेको प्रजाति पनि प्रविधिमय बन्नेछ । आधुनिक मिडियालाई परम्परागत भन्दै न्यु मिडियामा आकर्षित मान्छे विस्तारै हजारौं, लाखौं माइलको फिजिकल यात्राका रोमाञ्चक...
कोभिडका कारण थला परेको अर्थतन्त्र र पर्यटन क्षेत्रलाई चलायमान बनाउन विश्वका धेरै देशले अनेकन रणनीति अघि सारेका छन् । केही महिनाअघि अमेरिका पुग्दा थाहा भयो, न्युयोर्क, कोलोराडो लगायत शहरमा मारिओना फ्री (गाँजा स...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
मानिसको बानी व्यवहारमा उसले उपयोग गर्ने साधन र प्रविधिले प्रभाव पारेको हुन्छ । प्रविधिसँगै सूचनाको पहुँचले ज्ञान र चेतनामा तहल्का मच्चाएको छ । समाज दूरीविहीन छ । सूचना र समाचार प्रत्यक्ष हेर्न र दोहोरो कुरा गर्न...
अश्वत्थामा हतोहतः इति नरोवा कुञ्जरोवा (अश्वत्थामा मारियो त्यो मान्छे हो वा हात्ती) सत्यवादी युधिष्ठिर को यो वाक्य युद्धमा विपक्षीलाई पराजित गर्न आज पनि एकअर्काविरुद्ध चलाइने ‘प्रोपोगान्डा वारफेर’को मूल म...
सुकरातको मुद्दा, उनको मृत्यु र अद्भूत विचार शीर्षकको पुस्तकमा उनका आत्माकथाकार प्लेटोले उल्लेख गरेका थिए, मोटो ओठ र थेप्चो नाक भएको कुरूप अनुहारको मान्छे इसापूर्व चौथो शताब्दीतिर युनानको एथेन्स नगरको सडकमा घुमि...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...