
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन नमिल्ने बताएका छन् ।
शनिवार काठमाडौंमा भएको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
महामन्त्री थापाले सरकारले निजी क्षेत्रलाई स्वास्थ्य बीमा दिए त्यो बीमा नै नरहने जिकिर गरे । उनले स्वास्थ्य बीमाको पहुँच सबैमा पुर्याउने लक्ष्यका साथ कार्यक्रम ल्याएको भन्दै स्वास्थ्य बीमा भनेको सामाजिक स्वास्थ्य सुरक्षाको मुद्दा भएको बताए ।
महामन्त्री थापाले नागरिकको स्वास्थ्यमा हुने खर्च घटाउन सके मात्रै सरकारले स्वास्थ्य प्रणाली जोगाउन सक्ने बताए । उनले सरकारले स्वास्थ्यमा हुने खर्च घटाउने गरेर स्वास्थ्य प्रणालीका संरचनाहरू निर्माण गर्नुपर्ने बताए । उनले सरकारले प्राथमिक स्वास्थ्यको संरचना बनाएर काम नगरे स्वास्थ्य बीमा थेग्न नसक्ने बताए ।
महामन्त्री थापाले सरकार स्वास्थ्य प्रणालीको सुधार गर्नुपर्ने ठाउँमा कति अस्पताल बनाउने र शिलान्यास गर्ने भन्ने कुरामा केन्द्रित हुने गरेको बताए । उनले स्वास्थ्य प्रणालीलाई नै अहिले अस्पतालमा लगेर जोडेको भन्दै स्वास्थ्य प्रणाली नै अस्पताल हो भन्ने भ्रमबाट बाहिर निस्किनुपर्ने बताए ।
उनले भने, ‘नागरिकको स्वास्थ्यमा हुने जुन खर्च छ, त्यो खर्च गर्ने कुरा हामीले यदि घटाउन सकेनौं भने अवस्था गाह्रो छ । हामी बीमा बीमा भनिरहेका छौं । सबैलाई बीमामा ल्याएर खर्च गर्ने हो भने सरकारले पुर्याउँछ कसरी ? हामीसँग पैसा कति छ ? हामीले सकेसम्म स्वास्थ्यमा हुने खर्च घटाउने गरेर हेल्थ सिस्टम विकास गर्न सकेनौं भने प्राथमिक स्वास्थ्यको संरचना बनाएर काम गर्न सकेनौं भने हामीले थेग्नै सक्दैनौं । सरकारले खाली कति वटा अस्पताल बनाउने भन्ने कुरा मात्रै टिप्यो र अस्पतालको शिलान्यास भयो । हामीले हेल्थ सिस्टमलाई नै अस्पतालमा लगेर जोडेका छौं । त्यसबाट बाहिर निस्किनुपर्छ । नभए हामी गलत बाटोमा जान्छौं । हामीले स्वास्थ्य बीमाको कुरा गरिरहेका छौं । यसको आफ्नै धेरै चुनौतीहरू छन् तर हामीले कल्पना गरेको स्वास्थ्य बीमा भनेको युनिभर्सल एक्सेस हो । त्यसैले यो सरकारले के सोचेर ल्यायो अस्ती थाहा छैन । प्राइभेटलाई म दिन्छु भनेर गयो भने इन्स्योरेन्स नै रहँदैन । इन्स्योरेन्स नै होइन । हाम्रो यो सामाजिक स्वास्थ्य सुरक्षाको मुद्दा हो । त्यसैले हामीले प्रिमियमबाट नै उठाउने पैसा र खर्च गर्ने पैसाको बीचमा ठूलो ग्याप रहन्छ । त्यसैले अब सरकारले यस विषयमा सोचेन भने कि पैसा मैले मेरो खल्तीबाट हाल्नुपर्ने हो भनेर सोचेन भने स्वास्थ्य सुरक्षाको अवस्था गाह्रो छ । त्यसैले हामीले स्वास्थ्य सिस्टमको क्षेत्र भनेको सकेसम्म मैले खर्च कम गर्नु परोस् भन्ने हो । खर्च गर्नसक्ने अनुसारको हेल्थ सिस्टम डिजाइनबारे सरकारले सोच्नुपर्छ । सकरारले सकेसम्म मानिस अस्पताल नपुगोस् भन्ने सोच्नुपर्छ । सरकारले खर्च गर्ने पैसा घटाउन सकेमात्र स्वास्थ्य सिस्टम जोगाउन सक्छ । त्यसको निम्ति स्थानीय सरकारलाई प्राथमिक स्वास्थ्यको संरचना भित्रको महत्त्वपूर्ण जिम्मा दिएर सिस्टम क्रिएट गर्न सकेन भने अस्पताल मात्रै खोलेर स्वास्थ्य सुरक्षा हुन सक्दैन ।’
महामन्त्री थापाले सरकारले खर्च गर्नसक्ने अनुसारको स्वास्थ्य प्रणालीको बारेमा सोच्न आवश्यक रहेको बताए । उनले स्थानीय सरकारलाई प्राथमिक स्वास्थ्यको संरचना भित्रको महत्त्वपूर्ण जिम्मा दिएर स्वास्थ्य प्रणालीको निर्माण गर्न नसके अस्पताल मात्रै खोलेर स्वास्थ्य सुरक्षा नहुने बताए ।