२१ असार २०८३, आइतबार

निर्वाचनमा होमिन नेता–कार्यकर्तालाई विवेकशील साझाकी अध्यक्ष बास्कोटाको आह्वान

निर्वाचनमा होमिन नेता–कार्यकर्तालाई विवेकशील साझाकी अध्यक्ष बास्कोटाको आह्वान

विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा होमिन नेता कार्यकर्ताहरूलाई आह्वान गरेकी छन् । 

आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा देशभरबाट योग्य, सक्षम, इमानदार र परिपक्व उम्मेदवार सिफारिस गर्न समेत उनले अपिल गरेकी छन् ।

मुलुकमा राजनीतिको भाष्य बदल्न र शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायात जस्ता महत्वपूर्ण विषयहरु राज्यको दायित्व भित्र राख्दै सर्भिस डेलिभरीको राजनीति गर्न भनेर विवेकशील साझा पार्टीको स्थापना भएको भन्दै उनले अहिले राजनीति बदल्न आवश्यक रहेको बताएकी छन् । 

मंगलवार बिहान एक विज्ञप्ति जारी गर्दै अध्यक्ष बास्कोटाले भनेकी छन्,'नागरिकको अवस्था बदल्न देश चलाउने नीतिहरुको मूल नीति राजनीति बदल्न आवश्यक छ र राजनीति बदल्न निर्वाचनमा आमनागरिकका बीचमा गएर नागरिकबाटै चुनिएर आउनु पर्छ। त्यसैले मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पुरै पार्टी तत्काल होमिनुपर्ने भएको छ।'

उनले आगामी निर्वाचनमा पार्टीलाई परिवर्तनको संवाहकको रुपमा राष्ट्रिय मान्यता प्राप्त दल र राष्ट्रिय राजनीतिमा स्थापित पनि आसन्न निर्वाचनबाटै गर्नुपर्ने चूनौती रहेको बताएकी छन् । 

'यो निर्वाचनबाट सक्षम, इमानदार र परिपक्व युवा पंक्तिलाई सदनमा पुर्‍याउनै पर्ने राष्ट्रिय आवश्यकता एकातिर छ भने विवेकशील साझा पार्टीलाई परिवर्तनको संवाहकको रुपमा राष्ट्रिय मान्यता प्राप्त दल र राष्ट्रिय राजनीतिमा स्थापित पनि आसन्न निर्वाचनबाटै गर्नुपर्ने चूनौतीपनि हाम्रो अगाडि छ,' उनले भनेकी छन् ।

अध्यक्ष बास्कोटाले राष्ट्रिय राजनीति र मुलुकको परिस्थिती समेतलाई संवेदनशील मान्दै आम नागरिकको आक्रोश र अपेक्षा सदनमा प्रस्तुत गर्न, नीतिगत सुधारको प्रयास गर्न र देशलाई नेतृत्व गर्न सक्षम, परिपक्व उम्मेदवार तय गर्नु आजको आवश्यकता भएको उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्,'...तसर्थ आसन्न निर्वाचनका लागि प्रदेश सभा र प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिकतर्फ संभावित उम्मेदवार जिल्लाबाट प्रदेश समिति र प्रदेश समिति मार्फत केन्द्रीय समितिमा सिफारिस गर्न सातैवटा प्रदेश र जिल्लाका सदस्य तथा शुभेच्छुक साथीहरुलाई हार्दिक अपिल गर्दछु र सम्पूर्ण साथीहरुलाई आ आफ्नो ठाउँमा निर्वाचनमा होमिन पनि आग्रह गर्दछु।' 
 

salt training

कमेन्ट गर्नुहोस्