३१ असार २०८३, बुधबार

नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने आईएमएफको प्रक्षेपण

कात्तिक ७, २०७९
नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने आईएमएफको प्रक्षेपण

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव दुई प्रतिशत रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ । यसैसाता ‘वल्र्ड इकनोमिक आउटलुकः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दैै आईएमएफले आर्थिक वृद्धिदरको सुरुवाती अनुमानमा संशोधन गरेको हो । गत जनवरीमा आईएमएफले नेपालको आर्थिक वृद्धिदर ४ दशमलव एक प्रतिशत रहने प्रक्षेपण गरेको थियो । 

आईएमएफले सन् २०२३ मा भने नेपालको आर्थिक वृद्धिदर घट्ने अनुमान गरेको छ । आईएमएफले गत जनवरीमा गरेको प्रक्षेपणअनुसार आगामी वर्ष नेपालले छ दशमलव एक प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको थियो । तर, हाल उक्त प्रक्षेपणलाई घटाएर पाँच प्रतिशत सीमित गरिएको छ । सरकारले भने आर्थिक वर्ष २०७९÷८० का लागि आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।

त्यस्तै, आईएमएफले मूल्यवृद्धिको यसअघिको अनुमान पनि संशोधन गरेको छ । मुद्रास्फीति सन् २०२२ मा छ दशमलव तीन प्रतिशत र सन् २०२३ मा सात दशमलव ७ प्रतिशत रहने आईएमएफको सुरुवाती अनुमान थियो । तर, अहिले त्यसलाई संशोधन गर्दै २०२२ मा आठ दशमलव एक प्रतिशत र २०२३ मा सात दशमलव दुई प्रतिशत पुग्ने अनुमान गरिएको छ । 

चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले भने मूल्यवृद्धिलाई सात प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने प्रक्षेपण गरेको छ । पछिल्लो समय मूल्यवृद्धिका कारण विश्व अर्थतन्त्र नै समस्यामा परेको छ । कोभिड महामारी र रुस–युक्रेनबीचको युद्धलाई विश्व आर्थिक मन्दीको प्रमुख कारण ठानिएको छ । 

आईएमएफका अनुसार विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०२१ मा छ प्रतिशत रहेकोमा सन् २०२२ मा घटेर तीन दशमलव दुई प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ । त्यस्तै, २०२३ मा झन् खस्केर दुई दशमलव सात प्रतिशतमा झर्ने अनुमान गरिएको छ । जुन पछिल्लो दुई दशकयताकै सुस्त हो । 

विश्व मुद्रास्फीति दर यसवर्ष आठ दशमलव आठ प्रतिशत कायम हुने आइएमएफको अनुमान छ । सन् २०२३ मा भने त्यो घटेर छ दशमलव पाँच प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्