
निर्वाचनको मिति मंसिर ४ नजिकिएसँगै जिल्लाका गाउँगाउँमा राजनीतिक दलहरू आफ्नो उम्मेदवार र चुनावी एजेण्डासहित पुगिसकेका छन् ।
मोरङको ६ वटा निर्वाचन क्षेत्रमध्ये २ नम्बर क्षेत्रलाई यसपटक मतदाताले रोचक ढंगले नियालिरहेका छन् ।
नेपाली कांग्रेसका पूर्व सभापति स्व. गिरिजाप्रसाद कोइरालाले चुनाव लड्दै आएको क्षेत्रमा यसपटक उनकी छोरी सुजाता कोइराला नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेकी छन् । यो क्षेत्रमा स्वतन्त्र ३ सहित १३ जना चुनावी मैदानमा रहेका छन् ।
तीमध्ये कोइराला र नेकपा एमालेका ऋषिकेश पोखरेललाई मुख्य प्रतिस्पर्धी ठानिएको छ ।
हालको मोरङ २ नम्बर क्षेत्र तत्कालीन क्षेत्र नम्बर १ हुँदा गिरिजाप्रसाद कोइरालाले २०४८, २०५१ र २०५६ सालको संसदीय निर्वाचन जितेका थिए । विक्रम संवत् २०५६ सालमा मोरङ र सुनसरी–५ बाट विजयी भएका कोइरालाले मोरङ छाडेपछि उपनिर्वाचनमा उनका प्रतिनिधि आमोदप्रसाद उपाध्यायले पहिलो संविधानसभा निर्वाचनसम्म कोइरालाको विरासत थामेका थिए ।
दोस्रो संविधानसभा निर्वाचनमा एमालेका ऋषिकेश पोखरेल उपाध्यायलाई ३५८ मतले पराजित गर्दै विजयी बनेका थिए । २०७४ सालको निर्वाचनमा कांग्रेसका मीनेन्द्र रिजालले एमालेका पोखरेललाई पराजित गर्दै कांग्रेसको साख फर्काएका थिए ।
१ लाख २४ हजार ७२९ मतदाता रहेको यस क्षेत्रमा रतुवामाई, सुनवर्षी नगरपालिका र रंगेली नगरपालिकाको वडा १, २, ३, ८ र ९, पथरीशनिश्चरे नगरपालिकाको वडा नम्बर ५ र ६ र कानेपोखरी गाउँपालिकाको वडा नम्बर १, २ र ३ सहित २९ वटा वडा छन् । यो निर्वाचन क्षेत्रको प्रदेश १ मा ६१ हजार ५८ कूल मतदाता संख्या रहेकोमा महिला मतदाताको संख्या २९ हजार २४३ छ ।
प्रदेश २ तर्फ ६३ हजार ६७१ कूल मतदाता संख्या रहेकोमा ३० हजार ५६५ महिला मतदाता संख्या रहेको निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत नगेन्द्र केसरी पोखरेलले जानकारी र्दिए । क्षेत्रभरि जम्मा ६८ मतदान केन्द्र रहने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
झापासँग सिमाना रहेको रतुवा, बीचमा बक्राहा, पश्चिममा चिसाङ र लोहन्द्रा खोलाले घेरिएको यो क्षेत्रका वासिन्दा हरेक वर्षायाममा नदी कटान र डुबानको मार खेप्न बाध्य छन् । खोलाको कटान र डुबान नियन्त्रण दुवै उम्मेदवारको साझा एजेन्डा बनेका छन् ।
२ नम्बर क्षेत्रको १ नम्बर प्रदेशमा प्रदेशसभा सदस्यमा ३ स्वतन्त्रसहित १२ जना चुनावी मैदानमा उम्मेदवारी परेको छ । तीमध्ये नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र एमालेका दानबहादुर कार्कीलाई मुख्य प्रतिस्पर्धी ठानिएको छ । उप्रेती अघिल्लो निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार हुँदा कांग्रेसका शिवकुमार गनगाईसँग पराजित भएका थिए ।
२ नम्बर प्रदेश निर्वाचन क्षेत्रमा २ स्वतन्त्रसहित १० जना उम्मेदवार रहेका छन् । तीमध्ये एमालेका लीलाबल्लभ अधिकारी र कांग्रेसका विनोद कार्कीबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।
गत स्थानीय निर्वाचनको मतगणनाअनुसार यो क्षेत्रमा एमालेभन्दा सत्ता गठबन्धन ४ हजार ५०० मतले अगाडि देखिन्छ । स्थानीय निर्वाचनमा एमालेका वडाध्यक्षका उम्मेदवारले ३१ हजार ३३० मत ल्याउँदा कांग्रेसले २८ हजार ६१७ र माओवादी केन्द्रले ७ हजार २७१ मत पाएका थिए ।