
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना मंगलवार सकिने भएको देखिएको छ । प्रत्यक्षतर्फको मतगणना सोमवारै सकिएको छ ।
निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधि सभामा हालसम्म १ करोड ४ लाख ३० हजार ४३९ मतगणना सकिएको छ । सो प्रणालीतर्फ अब स्याङ्जा क्षेत्र नम्बर २, दोलखा र बाजुराको केही मतगणना हुन बाँकी रहेको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए ।
मतगणनाको परिणाम आइसकेपछि आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट संख्यासहित नाम सिफारिसका लागि आयोगले दलहरूलाई पत्राचार गर्नेछ । सोका लागि दलहरूले प्रतिनिधिसभातर्फ ७ दिन र प्रदेश सभातर्फ ३ दिन समय पाउनेछन् ।
निर्वाचनका लागि कूल मतदाता १ करोड ७९ लाख ८ हजार ८५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत (१ करोड ९ लाख ७३ हजार २७) मत खसेको जनाइएको थियो ।