
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
००००
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम बुझाएलगत्तै राष्ट्रपति कार्यालयले सरकार गठनको प्रक्रिया अगाडि बढाउने तयारी शुरू गरेको छ । आयोगले बिहीवार निर्वाचन परिणामको प्रतिवेदन बुझाएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि आह्वान गर्ने तयारी थालेकी हुन् । आयोगले बिहीबार राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलाई निर्वाचन प्रतिवेदन बुझाएको थियो ।
००००
निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएसँगै सरकार गठनको ‘काउन्टडाउन’ शुरू भएको छ । २०७४ सालमा निर्वाचन आयोगले प्रतिवेदन बुझाएको भोलिपल्ट फागुन ३ गते राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।
यसपटक प्रतिनिधिसभाका सदस्यले शपथ लिएपछि मात्र नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया शुरू गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष छ ।
मंसिर १९ गते बसेको सत्ता गठबन्धनको बैठकमा सांसद्को शपथपछि प्रधानमन्त्री नियुक्ति प्रक्रिया शुरू गर्ने सहमति भएको कांग्रेसका एक नेताले बताए । शपथ ग्रहणका लागि संसद्को अधिवेशन शुरू हुन जरुरी छ । संविधानको धारा ९३ मा ‘राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्नुपर्नेछ’ भन्ने उल्लेख छ ।
संविधानको व्यवस्थाअनुसार नै पुस २९ गतेअगावै प्रतिनिधिसभाको अधिवेशन आह्वान भइसक्नुपर्नेछ ।
संविधानको धारा ७६ को उपधारा ८ मा ‘प्रतिनिधिसभा निर्वाचनको अन्तिम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले ३५ दिनभित्र यस धाराबमोजिम प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्नेछ’ भन्ने उल्लेख छ ।
प्रधानमन्त्री नियुक्तिका लागि राजनीतिक दलले संसदीय दलको नेता चयन गर्नुपर्ने व्यवस्था छ । मंसिर ४ गतेको चुनावमा ८९ सिटसहित कांग्रेसले पहिलो स्थान हासिल गरेको छ भने ७८ सिटसहित एमाले दोस्रो पार्टी बनेको छ । कांग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धनले नै सरकार बनाउने गृहकार्य गरिरहेको छ ।
००००
विमान परिचारिका ‘क्याबिन क्रु’ को आन्दोलनका कारण अवरुद्ध नेपाल राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान पुनःसञ्चालन भएको छ । दुई जना क्याबिन क्रुको करार नवीकरण नगरेका विषयमा उनीहरु आन्दोलनमा उत्रिएपछि बिहीबार बिहानदेखि अवरुद्ध उडान रातिदेखि सुरु भएको निगमले जनाएको छ । निगम व्यवस्थापन र क्याबिन क्रु सङ्घबीच दिनभर छलफल गरेर सहमति भएसँगै उडान पुनःसञ्चालनमा आएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । उनका अनुसार बुधबार बिहान निर्धारण गरिएका उडान राति मात्रै भएको थियो भने आज बिहानैदेखि निगमको कुनै पनि उडान भएको थिएन ।
००००
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिले संघीय सरकारको पहिलो कार्यकाल र प्रदेश सरकारको नेतृत्व आफ्नै पार्टीले लिन अधिकतम पहल गर्नुपर्ने निर्णय गरेको छ । प्रदेश समितिको बिहीबार सम्पन्न बैठकले अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई सात बुँदे सुझाव लेख्दै माओवादी केन्द्रकै नेतृत्वमा संघ र प्रदेश सरकार गठनको अडान राखेको हो ।
००००
काठमाडौँ महानगरपालिकाले २८औँ स्थापना दिवसको अवसरमा विभिन्न विधाका ४७ जनालाई पुरस्कार तथा सम्मान गरेको छ ।
स्थापना दिवसको अवसरमा सप्ताहव्यापी समारोहको अन्तिम दिन बिहीबार २७ कर्मचारी, १३ जनप्रतिनिधि, पाँच पत्रकार, सशस्त्र प्रहरी हवल्दार वीरेन्द्रबहादुर साउदलाई जोखिमपूर्ण सेवा पुरस्कार र वत्सगोपाल वैद्यलाई कलाकार सम्मानसहित ४७ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।
००००
बेटिङ एप्लिकेसन वन एक्स बेट लगायतका एप्समार्फत सट्टाबाजी गराई रकम संकलन गर्ने गराउने कार्यमा संलग्न लमजुङ सुन्दरबजार नगरपालिका १ घर भई काठमाडौं महानगरपालिका २ टोखा चण्डेश्वरी बस्ने २६ वर्षीय सुजन गौलीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
फिफा विश्वकप २०२२ लगायतका अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा उक्त एप्समार्फत सट्टाबाजी गराई रकम संलग्न गर्ने गराउने कार्यमा एजेन्टहरू सक्रिय रहेको भन्ने सूचानको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले वन एक्स बेटका एजेन्टको रूपमा सक्रिय रहेका उनलाई काठमाडौं महानगरपालिका २८ कमलपोखरीबाट पक्राउ गरेको हो ।
००००
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मानले विभूषित गरेको छ । सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान उनलाई बिहीबार जापानी राजदूतको निवासमा विशेष कार्यक्रम गरी प्रदान गरिएको हो ।
००००
सर्वोच्च अदालत प्रशासनले फौजदारी संहिता संशोधन गर्न सरकारले ल्याउन लागेको अध्यादेशविरुद्धको रिट निवेदन दरपीठ गरेको छ ।
उक्त अध्यादेशविरुद्ध अधिवक्ता कपिलदेव ढकालले दर्ता गर्न पेश गरेको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालत प्रशासनले अस्वीकार गरेको हो । सर्वोच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थीले रिट निवेदन दर्ताका लागि विषय परिपक्व नभएको उल्लेख गर्दै दरपीठ गरेका हुन् ।
००००
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएका अवसरमा आगामी पुस ४ गते जलपान कार्यक्रमको आयोजना गर्ने भएको छ । आयोगको प्रांगणमा अपराह्न साढे १ बजेका लागि जलपान कार्यक्रम आयोजना गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
००००
नेपाली राष्ट्रिय क्रिकेट टोलीको निराशजनक प्रदर्शनपछि मुख्य प्रशिक्षक मनोज प्रभाकरले बिहीवारबाट लागू हुनेगरी राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीवार मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएको जानकारी दिएको छ । नामिबिया भ्रमण सकेर उतैबाट भारत प्रस्थान गरेका भारतीय प्रशिक्षक प्रभाकरले दिएको राजीनामा स्वीकृत भएको क्यानले जनाएको छ ।
००००
साताको अन्तिम कारोबारको दिन बिहीवार पनि नेप्से परिसूचकमा गिरावट आएको छ । गत मंगलवारदेखि ओरालो लागेको नेप्से परिसूचक बिहीवार पनि १४.४८ अंक घटेर १८८२.६० बिन्दुमा झरेको हो । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स २.१५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंक घटेको छ ।
००००
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मुलुकी अपराध संहिता ऐन संशोधन गर्न सरकारले ल्याएको अध्यादेश रोक्ने षडयन्त्र भएको भन्दै संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
अध्यादेश तत्कालै जारी गरिनुपर्ने मागसहित नेकपाले विरोध प्रदर्शनदेखि चक्काजामसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । नेकपाले पुस १ गते देशव्यापी विरोध प्रदर्शन गर्ने, २ गते देशभर कोणसभा, ३ गते जिल्ला सदरमुकाम र मुख्य शहरमा अन्तरक्रिया, ४ गते साँझ देशभर मसाल जुलुस प्रदर्शन र ५ गते बिहान १० बजेदेखि ११ बजेसम्म १ घण्टा चक्काजाम गर्ने बताएको छ ।
००००
नेपाल राष्ट्र बैंकले देशको समग्र आर्थिक अवस्थाबारे चालु आर्थिक वर्षको ४ महिनाको रिपोर्ट सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक रिपोर्टमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति .० प्रतिशत रहेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २०.४ प्रतिशतले र अमेरिकी डलरमा १०.८ प्रतिशतले बढेको छ । यसैगरी शोधनान्तर स्थिति रु.२० अर्ब ३ करोडले बचतमा रहेको छ ।
यस्तै कुल विदेशी विनिमय सञ्चिति रु.१२४६ अर्ब २७ करोड र अमेरिकी डलरमा ९ अर्ब ६३ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी संघीय सरकारको खर्च रु.३५१ अर्ब र राजस्व परिचालन रु.२६८ अर्ब ७ करोड रहेको छ ।
००००
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरेका हुन् ।
००००
शहरी विकासमन्त्री मेटमणी चौधरीले काठमाडौं उपत्यकाभित्र देखिएका सुकुम्बासी समस्या समाधान गर्न सबै पक्षको सहयोग र सहमति आवश्यक रहेको बताएका छन् । उनले काठमाडौं शहरको सौन्दर्यमा प्रतिकूल असर पार्ने फोहोरमैलाको व्यवस्थापन तथा नदीकिनारामा रहेका सुकुम्बासी बस्तीको व्यवस्थापन कार्य चूनौतिपूर्ण रहेको उल्लेख गर्दै त्यसको समाधानका लागि सबै पक्षको सहयोग र सहमति आवश्यक रहेको प्रष्ट पारेका हुन् ।
२८औँ महानगर दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले काठमाडौंलाई व्यवस्थित, सफा र सुन्दर शहर बनाउन आवश्यक पूर्वाधारको विकास गर्न ठोस कार्यहरू सञ्चालन गर्न ढिलाई गर्न नहुने पनि स्मरण गराए ।
००००
अमेरिका उडेकी चर्चित गायिका आस्था राउतलाई त्यहाँस्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ । सांगीतिक कार्यक्रमका लागि उनी पाँचदिन अघि अमेरिका उडेकी थिइन् । पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै आफूलाई अमेरिका प्रवेशमा रोक लगाइएको आस्थाले जानकारी दिएकी छिन् ।