
अंग्रेजी नयाँ वर्षमा पर्यटकीय क्षेत्रका होटलहरू शतप्रतिशतसम्म बुकिङ भएको छ । अंग्रेजी नयाँ वर्ष मनाउनका लागि पर्यटकीय गन्तव्यहरूमा आन्तरिकसँगै विदेशी पर्यटकको चहलपहल शुरू भएको छ । होटल बुकिङ शतप्रतिशतसम्म पुगेको होटल व्यवसायीहरूले बताएका छन् ।
अंग्रेजी नयाँ वर्षमा विशेषगरी पोखरा, चितवन, भैरहवा, धुलिखेल, नगरकोटलगायत पर्यटकीय गन्तव्यहरूका होटल तथा रिसोर्टहरू भरिभराउ भएर बुकिङ ‘फुल’ भएको व्यवसायीहरूले बताएका छन् ।
होटल संघ नेपाल (हान) का उपाध्यक्ष विनायक साहले अंग्रेजी नयाँ वर्षमा पर्यटकीय गन्तव्यहरूका होटलहरूको बुकिङ शतप्रतिशत रहेको बताए । उनले विशेषगरी पोखरा, चितवन, भैरहवा, धुलिखेल, नगरकोटलगायत पर्यटकीय गन्तव्यहरूका होटल तथा रिसोर्टहरू नयाँवर्ष लक्षित दुई दिनको लागि ‘फुल अकुपेन्सी’ हुने बताए । उनले विशेषगरी युवा वर्गमा नयाँ वर्ष पर्यटकीय गन्तव्यहरूमा गएर मनाउने भएकाले होटलहरूको बुकिङ राम्रो हुने बताए ।
उपाध्यक्ष साहले अंग्रेजी नयाँवर्षमा आन्तरिक मात्रै नभएर विदेशी पर्यटकको संख्या बढेकाले होटलहरूको अकुपेन्सी राम्रो रहेको बताए । उनले नयाँ वर्षको अवसरमा शतप्रतिशत अकुपेन्सी पुगे पनि समग्र नेपालका होटलहरूको अकुपेन्सी ३० प्रतिशत मात्रै रहेको बताए । उनले विभिन्न चार्डपर्वमा हुने अकुपेन्सी दुई, तीन दिनको लागि मात्रै हुने बताए ।
उनले समग्र रुपमा हेर्दा ७० प्रतिशत होटलहरूमा अकुपेन्सी हुन नसकेको बताए । उपाध्यक्ष साहले अब पर्यटक पूर्वधारहरू विस्तार गरी १२ महिना नै ८० प्रतिशत होटलहरूको अकुपेन्सी पु¥याउन आवश्यक रहेको बताए । उनले २०२२ को तुलनामा सन् २०२३ मा पर्यटन क्षेत्र राम्रो हुने आशा रहेको बताए ।
उपाध्यक्ष साहले आन्तरिक पर्यटकको रोजाइमा पर्ने पोखरामा आन्तरिक पर्यटक र भारतीय पर्यटकहरूले गर्दा होटल भरिभराउ भएको बताए । उनले पोखरामा अंग्रेजी नयाँ वर्षका अवसरमा सडक महोत्सवलगायत अन्य विभिन्न कार्यक्रम आयोजना हुने हुँदा होटल बुकिङमा उत्साह देखिएको बताए । उनले कोरोना महामारीपछि विगतको तुलनामा होटल बुकिङको ‘फ्लो’ ह्वात्तै बढेको बताए ।
उनले काठमाडौं नजिकका पर्यटकीय गन्तव्य धुलिखेल र नगरकोटमा पनि अहिले होटल बुकिङ उत्साहजनक रहेको बताए । उपाध्यक्ष साहले बुधवार अर्थमन्त्री पौडेललाई भेटेर होटल व्यवसायीहरूको समस्याका विषयमा ध्यानाकर्षण गराएको बताए । उनले अर्थमन्त्रीलाई बैंक र होटल व्यवसायीहरूको सम्बन्ध सुधारको लागि बैंक कर्जा तिर्ने समय दुई वर्ष थप गर्न माग गरिएको बताए । उनले पूर्वका व्यवसायीहरू बैंकहरूको व्यवहार देखेर सडक आन्दोलनमा रहेको बताए ।
नयाँ सरकारले पर्यटन क्षेत्रका समस्या समाधान गरी पर्यटक पूर्वाधारमा विशेष ध्यान दिए पर्यटन क्षेत्र लयमा आउनसक्ने बताए । उनले वर्तमान सरकारले पर्यटन व्यवसायीहरूमा समस्या समाधान गर्नेमा व्यवसायीहरू आशावादी रहेको उल्लेख गरे ।