
इलाका प्रहरी कार्यालय बुटवलमा नयाँ डीएसपी दानबहादुर थापा आएका छन् । यसअघिका डीएसपी ठगबहादुर केसी सुनकाण्डमा मुछिएर निलम्बनमा परेपछि उनी इप्रकाको नेतृत्व सम्हाल्न आएका हुन् ।
बिहीवार पत्रकारहरूसँगको अन्तरक्रियामा बोल्दै डीएसपी थापाले बुटवल आउँदै गर्दा आफूलाई थप सचेत र जिम्मेवार बनाएको भन्दै प्रहरी सेवामा लागेको २५ वर्षको अवधिमा इमान्दारितामा दाग लाग्न नदिएको र अबको दिनमा पनि त्यसलाई कायम राख्ने दाबी गरे ।
‘मेरो २५ वर्षको प्रहरी सेवा स्वच्छ ढंगले नै बितेको छ । अब पनि कुनै आर्थिक प्रलोभनमा फस्ने छैन’, उनले भने । उनले शान्ति सुरक्षा र अपराध नियन्त्रण प्रहरीको मुख्य दायित्व र कर्तव्य रहेको भन्दै यही कर्तव्यलाई कुशल ढंगले निर्वाह गर्ने पनि उनले बताए । डीएसपी थापा यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) मा कार्यरत थिए ।
उनले बुटवले बुटवलको मुख्य समस्या लागू औषध नियन्त्रण रहेको र पछिल्लो समय आत्महत्या रोकथाम पनि मुख्य चुनौतीको रुपमा देखिएको भन्दै हत्या, हिंसा, लुटपाट, चोरी डकैती जस्ता जघन्य अपराधमा संलग्नलाई पनि कानूनी दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने बताए ।
प्रहरी कार्यालय बुटवलका यसअघिका डीएसपी ठगबहादुर केसी सुन काण्डमा आर्थिक प्रलोभनमा फसेपछि उनीमाथिको अनुसन्धान जारी छ ।