३० असार २०८३, मंगलबार

राजेन्द्र लिङदेनलाई प्रधानमन्त्री अफर गरेर कांग्रेसले यो गठबन्धन भत्काउन खोजेको हो ?

राजेन्द्र लिङदेनलाई प्रधानमन्त्री अफर गरेर कांग्रेसले यो गठबन्धन भत्काउन खोजेको हो ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा पुस २६ मा विश्वासको मत लिने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि राजनीतिक भेटघाटलाई तीव्रता दिएपछि राजनीतिक माहोल तातेको छ । 

मुख्यगरी सरकारलाई समर्थन गरेका तर सहभागी नभएका राप्रपा र जसपाका शीर्ष नेतासँग सभापति शेरबहादुर देउवाले संवाद बढाएपछि राजनीतिक सरगर्मी बढेको हो । 

प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त हुँदा १४ सिट भएको राप्रपा र १२ सिट भएको जसपाले पनि समर्थन गरेका थिए । प्रचण्डले नियुक्त हुँदा १६६ मत पुर्‍याएका थिए । तर, राप्रपा र जसपा सहभागी नभई बार्गेनिङमा लागेपछि कांग्रेसले पनि खेल्न खोजेको हो । 

सरकारमा जान यी दुवै दलले प्रचण्डसँग विभिन्न शर्त राखिरहेका छन् । राप्रपाले पृथ्वीजयन्ती ( पुस २७)मा सार्वजनिक बिदा दिनुपर्ने, सरकारमा उपप्रधानमन्त्रीसहित कम्तिमा ४ मन्त्रालयसहितको हिस्सा दिनुपर्ने माग गरिरहेको छ । मन्त्री बन्न धेरैले आकांक्षा राखेपछि राप्रपा सकेसम्म धेरैलाई मन्त्री बनाउने गरी बार्गेनिङमा जुटेको हो । यो प्रस्तावमा प्रचण्ड सहमत नभए विकल्पमा कांग्रेससँग पनि संवाद गर्ने मनस्थिति बनाएपछि भने प्रचण्डले विश्वासको मत नपाउने हो कि भनेर अनेक अड्कलबाजी भइरहेका छन् । 

प्रचण्डलाई विश्वासको मत पुग्न नदिने गरी खेल्न सकिन्छ कि भनेर कांग्रेसका दोस्रो तहका नेताहरू सक्रिय भएको बताइन्छ । प्रचण्डलाई बहुमत पुग्न नदिए ठूलो दलको रूपमा कांग्रेसले सरकार बनाउने र एक महिनाभित्र विश्वासको मत लिने सकिनेबारे दोस्रो तहका नेताहरू सक्रिय भएको बताइन्छ । 

यही बेला राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई कांग्रेसले प्रधानमन्त्रीको आश्वासन दिएको चर्चाले राजनीतिक माहोल तातेको हो । यतिमात्रै होइन बागमती, सुदूरपश्चिम र गण्डकी प्रदेशमा साना दलसँग कांग्रेसले सहकार्य गरेर मुख्यमन्त्रीमा आलोपालो गर्ने गरी संवाद गरिरहेको समेत बताइन्छ । गण्डकी र सुदूरपश्चिम प्रदेशमा साना दललाई विश्वासमा लिन सक्दा कांग्रेसले प्रदेशसभामा बहुमत आफ्नो पक्षमा पार्न सक्छ । राप्रपा, नेकपा एससहितका दललाई समर्थनमा लिनसके बागमतीमा पनि अहिलेको गठबन्धनलाई अप्ठ्यारोमा पार्न सक्ने मत कांग्रेससँग छ ।

जनमत पार्टीका सिके राउतसँग प्रतिनिधिसभामा पराजित भएका उपेन्द्र यादव पनि संसदमा पुग्ने बाटो हेरिरहेका छन् । जितेका सांसदलाई उपराष्ट्रपति बनाएर खाली हुने पदमा सांसदमा पुग्ने गरी यादवले सत्तारुढ र विपक्षी कांग्रेससँग पनि संवाद गरिरहेका हुन् । उनले दुई दिनअघि सभापति देउवालाई उनकै निवासमा पुगेर भेट गरेका छन् । 

यसबीच सत्ताच्यूत भएपछि धुम्बाराहीको भाडाको घरमा बसिरहेका देउवाले राजनीतिक भेटघाटलाई भने तीव्रता दिएका छन् । यसैले पनि उनले विकल्पमा सरकार बनाउनेबारे छलफल गरेका हुन् कि भन्ने आशंका व्यक्त गर्न थालिएको छ । 

तर, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले यस कुराको खण्डन गरेका छन् । ट्वीट गर्दै शर्माले भनेका छन्, ‘प्रधानमन्त्रीमा कसैलाई प्रस्ताव ? नजाने गाउँको बाटो कांग्रेस तत्काल सोध्दैन । अघि लाग्छौँ कि भनेर कसैलाई भन्दै छैन र भन्दैन । नयाँ परिस्थितिमा नयाँ ढंगले अघि बढ्न गहन आन्तरिक विमर्शको चरणमा प्रवेश गर्दैछ कांग्रेस । यसबाहेकका हल्लाहरू केबल फुर्सदिला कफी गफ मात्रै हुन् ।’

राप्रपा र जसपा प्रचण्डसँग बार्गेनिङमा रहेपछि कतिपय कांग्रेस नेताहरूले विकल्पमा बहुमत जुटाउन सकिने सुझाव पनि दिइरहेका छन् ।

कांग्रेसको ८८, राप्रपाको १४, जसपाको १२, नेकपा एसको १०, जनमत पार्टीको ६, लोसपाको ४, नागरिक उन्मुक्तिको ४ र राष्ट्रिय जनमोर्चाको गरी १३९ सिट पुग्ने हिसाब पनि गरिरहेका छन् । एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीविना पनि बहुमत पुर्‍याउने यो कसरतले बलियो र दीर्घकालीन गठबन्धन बन्न सक्ने अवस्था छैन । 

तर, कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पनि राजनीतिक दलबीच भेटघाट भए पनि लिङदेनलाई प्रधानमन्त्री वा कुनै पदको प्रस्ताव नगरिएको बताए । 

‘राजनीतिक दलका नेतासँग भेटघाट हुँदैमा आत्तिहाल्नुपर्दैन । कुनै दलका नेतालाई प्रधानमन्त्रीमा सहयोग गर्ने भनेर सभापतिले वचन दिनुभएको भन्ने चर्चामा कुनै सत्यता छैन’, महतले लोकतान्तरसँग भने, ‘दलका नेतासँग भेट गर्दैमा सत्ताको जोडघटाउको लागि मात्रै गरेको भन्ने हुँदैन ।’ 

केन्द्रमा अनुकूल नभइकन प्रदेशमा कांग्रेसले सत्ता गठबन्धनका लागि पहल नगर्ने पनि उनले बताए । 

एमाले उपमहासचिव विष्णु रिमालले आफूहरूले पनि कुनै दलको नेतालाई प्रधानमन्त्रीको उधारो आश्वासन दिएको बारे चर्चा सुनेको जानकारी दिए । 

‘हामीले पनि यस्ता चर्चा सुनेका छौँ । विभिन्न व्यक्तिलाई प्रधानमन्त्रीको ‘अफर’ आएको भन्ने छ । यो गैर राजनीतिक कुरा हो । गैर राजनीतिक काम भयो र भद्रगोल नै भयो भने कसको के लाग्छ र ?’, लोकान्तरसँगको कुराकानीमा रिमालले भने, ‘तर जहाँसम्म मेरो आफ्नो विश्वास छ, अहिले गठबन्धन बनेको तरिका, न्यूनतम साझा कार्यक्रमको अन्तिम तयारीले गर्दा यस्तोमा प्रधानमन्त्री उधारोमा पाउनसाथ गठबन्धन टुटाएर अस्थिरता सिर्जना गर्नेतिर कोही लाग्छन् भन्ने लाग्दैन । त्यस्तो हो भने जाने चुनावमा नै हो । किनकी त्यसपछि कोही पनि प्रधानमन्त्री बन्न सक्दैन ।’

शनिवार कांग्रेसको संसदीय दलको बैठक बैठक बस्दैछ । बैठकले विश्वासको मत, प्रतिपक्षीका रूपमा भूमिका खेल्नेसहितका विषयमा छलफल र निर्णय गर्ने तयारी गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्