
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकाललाई आफैंले अग्निपरीक्षाको रूपमा लिएको बताएका छन् । नराम्रो काम नगर्ने र गर्न पनि नदिने प्रण गरेको उनले बताए ।
शुक्रवार काठमाडौंमा हस्तकला महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जनताले महसूस गर्नेगरी काम गर्न चाहेको बताएका हुन् ।
‘नेपालमा गणतन्त्र स्थापना भएपछि पनि जनताले परिवर्तनको महसूस गर्न पाएनन् । यो राजनीतिक परिवर्तनलाई आर्थिक समृद्धिमा जोड्नुपर्छ,’ प्रचण्डले भने, ‘यसपटक भाषण कम, कम बढी गरेर देखाउने मेरो सोच छ । राम्रा काम मात्र गर्ने, नराम्रो काम नगर्ने र गर्न पनि नदिने गरी सोचेको छु ।’
प्रचण्डले ४४ औं प्रधानमन्त्रीको रूपमा आफ्नो तेस्रो कार्यकाललाई ठूलो अग्निपरीक्षाको रूपमा लिएको बताए ।
‘गणतन्त्रपछि पनि जनताको जीवनस्तरमा सुधार आएन । अहिले प्रतिनिधि सभामा जस्तो बनोट देखिन्छ, त्यसबाट पुरानो नेतृत्वप्रति असन्तुष्टि देखिन्छ । अर्कोतर्फ एकपटक मौका दिनुपर्छ भनेर ठूलो विवेक प्रयोग गरेको देखिन्छ,’ प्रचण्डले भने ।