
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अनेरास्ववियुले आगामी स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व दिनुपर्ने बताएका छन् । सोमवार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौंमा आयोजना गरेको स्ववियु निर्वाचन विशेष प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले त्यस्तो बताए ।
आगामी स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व हस्तान्तरण गर्न विद्यार्थी नेताहरुलाई उनले आग्रह गर्दै भने, “हालसम्म विद्यार्थीको नेतृत्व गरिरहेका नेताहरुले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तररण गर्नुपर्छ ।” वास्तविक विद्यार्थीले मात्र स्ववियु र विद्यार्थीहरुको नेतृत्व गर्नसक्ने भन्दै वास्तविक विद्यार्थीलाई अगाडि बढाउन उनले आग्रह गरे । महासचिव पोखरेलले अनेरास्ववियुलाई अग्र्यानिक अनेरास्ववियु बनाउन पनि निर्देशन दिए ।
महासचिव पोखरेलले सामाजिक सञ्जालले समाजलाई अराजकतातिर लैजान थालेको बताए । सामाजिक सञ्जालले समाजलाई परिवर्तनको बाटोतर्फ लैजान नसक्ने भन्दै उनले यसले उदार पँुजीवाद र दलाल नोकरशाहलाई प्रवर्धन गरिरहेको बताए । एमाले नेतृत्वको सरकार हुँदा सडकमा नागरिक आन्दोलनको नाममा आन्दोलन हुनेगरेको उल्लेख गर्दै बुर्जुवाहरुले सरकारको नेतृत्व गर्दाभने नागरिक आन्दोलन सुतेर बस्ने गरेको टिप्पणी गरे ।
महासचिव पोखरेलले मुलुकको अर्थतन्त्रलाई माथि उठाउने सामथ्र्य एमालेसँग मात्रै रहेको दाबी गरे । एमालेले नै नेपालमा लोडसेडिङको अन्त्य गरेको उनको भनाइ छ । एमालेले बनाएको उज्यालो नेपालको योजना अर्कैले अपहरण गरेको उनले बताए । एमालेले देशको विकास र समृद्धिमा धेरै ठूला काम गरेको भएपनि कामहरुलाई जनताको बीचमा स्थापित गराउन नसकेको चर्चा गरे ।