
राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले भ्रष्टाचारले मुलुकको भविष्य नै बर्बाद भएको भन्दै प्रभावकारीरुपमा छानबिनको व्यवस्था गर्न माग गरेका छन् ।
उपसभामुख चयनबारे प्रतिनिधिसभाको बैठकको छलफलमा भाग लिंदै शाहीले अन्य देशमा जस्तै नेपालमा पनि बहालवाला र पूर्व प्रमुख, मन्त्रीहरूलाई जेल हाल्नेसम्मको व्यवस्था गर्न माग गरेका हुन् ।
‘आज पनि भ्रष्टाचारको फाइल अख्तियारको दराजमा थन्किएका छन् । भ्रष्टाचारीलाई कारवाही भएको कहीं सुनिंदैन । हरेक दिन समाचारमा भ्रष्टाचारका विषय आउँछन्, भ्रष्टाचारका कुरा सुनिन्छन् । छापिन्छन् तर साना माछामात्रै जालमा पर्ने, ठूलठूला माछा फुत्किने कहिलेसम्म छ ?’ शाहीले प्रश्न उठाउँदै भने, ‘सिंगो मुलुकको भविष्य भ्रष्टाचारले गर्दा बर्बाद भएको छ । विदेशमा पूर्व राष्ट्रपति, सरकार प्रमुख, प्रधानमन्त्री, मन्त्री र उच्चपदस्थलाई भ्रष्टाचारमा सर्वस्वहरण गरी जेल हालिन्छ । नेपालमा पनि भ्रष्टाचारका सवालमा यस्तै होस् ।’