
चीनले लगभग १० लाख तिब्बती बालबालिकालाई उनीहरूको परिवारबाट छुट्ट्याएर राखेको संयुक्त राष्ट्रसंघका तीनजना मानवअधिकार विशेषज्ञहरूले ताजा प्रतिवेदनमा उल्लेख गरेका छन् ।
ती बालबालिकालाई सरकारद्वारा सञ्चालित बोर्डिङ स्कूलमा राखिएको प्रतिवेदनमा लेखिएको छ । तिब्बती बालबालिकालाई चीनले मातृभाषा, संस्कृतिथ र इतिहासको पढाइबाट वञ्चित गर्न खोजेको आरोप प्रतिवेदनमा लगाइएको छ ।
तिब्बती अल्पसंख्यक बालबालिकालाई चिनियाँ भाषामा पढाइ गर्न बाध्य पारिने गरेको छ । उनीहरूलाई राखिएको विदालयमा हान संस्कृतिको बारेमा पढ्न मात्र दिइन्छ । हान भनेको चीनको बहुसंख्यक जातीय समूह हो र त्यो कुल जनसंख्याको ९२ प्रतिशत छ ।
मानवअधिकार विशेषज्ञहरूका अनुसार, तिब्बती बालबालिकालाई आवासीय विद्यालयमा अन्तर्राष्ट्रिय मानवअधिकार मानकको विपरीत राखिएको छ । बालबालिकाले आफ्नो मूल भाषा बिर्सन सक्ने डर मानवअधिकारकर्मीहरूले लिएका छन् । उनीहरूलाई परिवारका सदस्यसँग संवाद गर्न नै गाह्रो हुन सक्ने उनीहरूको अनुमान छ ।
प्रतिवेदनमा तिब्बती महिलाहरूलाई जबर्जस्ती गर्भपात गराइएको पनि उल्लेख छ । चिनियाँ सेनाका चिकित्सकहरूले गर्भवती तिब्बती महिलाको योनिमा एक विद्युतीय उपकरण राख्ने अनि त्यसले गर्भस्थ शिशुलाई बिजुलीको झड्का दिएर मार्ने गरेको प्रतिवेदनमा आरोप लगाइएको छ ।
यस्तो गरुन्जेल महिलालाई एनेस्थेसिया दिएर बेहोश पनि नबनाइने गरेको र उनीहरू पीडामा चिच्याउने गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।