
क्यानडाको भिसा त्यागेर कैलालीको अत्तरियाका हिक्मत कठायत अहिले भैंसीपालनमा रमाइरहेका छन्। उनले भैँसीपालनबाट राम्रो आम्दानी पनि गरिरहनुभएको छ ।
साइप्रसबाट ‘बिएससी नर्सिङ’ अध्ययन पूरा गरेका गोदावरी नगरपालिका-२ अत्तरियाका उनले विदेशमा छँदा मासिक तीन लाख आम्दानी गर्थे।
पुरख्यौली घर बझाङको छविस पाथिभेरा-२ भएका उनले नेपालमा ‘एचए’ पूरा गरी नर्सिङ पढ्न साइप्रस गएका थिए। साइप्रसबाट अध्ययन सकेर स्वदेश फर्किएको केही समयपछि जागिर नपाएपछि उनी वैदेशिक रोजगारीमा गएका थिए।
शुरूआतमा काम गर्न दुबई पुगेका उनले त्यहाँ मासिक एक हजार ६ सय डलरमा काम थाले।
करिब १४ महिना दुबईमा काम गरेपछि हिक्मतलाई विदेशमा भइरहेको त्यो कमाइ चित्त बुझेन । दुबईको १४ महिनाको कामलाई विश्राम दिएर उनी कुवेतमा मासिक दुई लाख ९० हजारको जागिर गर्न गए ।
'व्यक्तिगत खर्च कटाएर मासिक रू दुई लाख ९० हजार घर पठाउथे', उनले भन्नुभयो, 'त्यहाँ मैले चार वर्ष आठ महिना काम गरेँ ।' त्यसपछि बिदामा घर आएका उनी विदेश फर्किएनन्।
बिदामा घर आएका उनले कुवेतको जागिर छाडेर शुरूमा कुखुरापालन गरे। कुखुरापालनबाट पहिला राम्रै आम्दानी भए पनि पछि भने लाखौँ घाटा बेहोरे।
उनले कुखुरापालनकै कारण विदेश छँदा कमाएको ४६ लाख नगद र ६ तोला सुन पनि सके।
कुखुरापालनबाट लाखौँ डुबेपछि हरेश खाएका हिक्मतले फेरि विदेश जाने सोच बताए। क्यानडाको भिसा लगाएर जाने तयारी गरेका उनले साथीको सल्लाहले रोकिए।
'कुखुरापालनबाट लाखौँ गुमाउँदा भएको तनावपछि विदेश जाने भनेर क्यानडाको भिसा लगाएँ, सबै तयारी पूरा भएर जाने तरखर गर्दै थिएँ साथीको सल्लाहले फेरि रोकिएँ', उनले भने।
'साथीको सहयोगमा बैंकबाट कर्जा लिएर भैँसीपाल्न शुरू गरेको छु। अहिले भैँसीपालनबाट राम्रो आम्दानी भइरहेको छ,' उनी भन्छन्।
कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ मा एक बिघा १२ कठ्ठा जमिन भाडामा लिएर उनले हेमा कृषि फार्म सञ्चालन गरेका छन्।
फार्ममा भैँसीपालन व्यवसाय शुरू गरेको करिब सात महिना पुग्न लाग्यो । यसमा पनि शुरूमा घाटा बेहोर्नुपरेको उनले बताए।
'साथीको सल्लामा अर्का एकजनामार्फत भैँसी किनेर ल्याए तर दूधै नदिने भएपछि आधा पैसामा बिक्री गरेँ', उनले भने।
हाल उनको फार्ममा ६ वटा भैंसी छन् । दूध बिक्रीबाट मात्रै हाल मासिक करिब ७० हजार नाफा भइरहेको उनी बताउँछन्।
'अहिले प्रतिलिटर रू ८० का दरले दैनिक ६४ लिटर दूध बिक्री गर्छु', उनले भने, 'प्रत्येक महिना दूध बढ्दै गइरहेको र आम्दानी पनि बढ्दै जाने विश्वास लिएको छु ।'
कुल रू ५६ लाख लगानी भएको कुखुरापालन व्यवसाय डुबेपछि आठ लाख रुपैयाँ ऋण लिएर शुरू गरेको भैँसीपालनबाट भने सन्तुष्टि मिलेको उनी बताउँछन्।
भैँसीपालनमा श्रीमती र एक जना आफन्तले सहयोग गर्दै आएका छन् ।