१० साउन २०८३, आइतबार
बिजनेसविहीन बीआईसीसी

कार्यविधि नबन्दा बुटवलको बीआईसीसी अलपत्र, खर्च मासिक १२ लाख, आम्दानी शून्य

फागुन ८, २०७९
कार्यविधि नबन्दा बुटवलको बीआईसीसी अलपत्र, खर्च मासिक १२ लाख, आम्दानी शून्य

बहुउपयोग गर्ने उद्देश्यले १ अर्ब ११ करोड लागतमा निर्माण गरिएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) ‘बिजनेसविहीन’ बनेको छ । 

बुटवल रामनगरस्थित सम्मेलन केन्द्रको सञ्चालन कार्यविधि नबन्दा ८ वर्ष लगाएर तयार पारिएको ठूलो परियोजना बेकामे बन्न पुगेको हो । 

६ महिना अगाडि (११ भदौ) तामझामका साथ तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्मेलन केन्द्रको उद्घाटन गरेका थिए । तर, अहिलेसम्म उपयोग भएको छैन । 

शहरी विकास मन्त्रालयले बनाएको भवनबाट सेवा सञ्चालन नहुँदा करोडौं मूल्यका उपकरणहरू बिग्रिने जोखिम बढ्न थालेको छ । सम्मेलन केन्द्रको सञ्चालन खर्च मात्रै मासिक १२ लाख रूपैयाँभन्दा बढी छ । 

आम्दानी शून्य हुँदा सम्मेलन केन्द्र ‘सेतो हात्ती’ बन्ने त होइन भन्ने चिन्ता बढेको छ । अन्तर्राष्ट्रिय स्तरका सभा, सम्मेलन, गोष्ठी र सेमिनार सहजीकरणका लागि निर्माण गरिए पनि बीआईसीसी सुनसान छ ।

पूर्वाधार र व्यवस्थापन पूर्णरूपमा तयार भए पनि बुटवल उपमहानगरपालिका वडा नम्बर– १२ बुटवल मण्डपमा रहेको सम्मेलन केन्द्रको सञ्चालन कार्यविधि बन्न सकेको छैन ।  

भवन डिभिजनले गत जेठमा सम्मेलन केन्द्र सञ्चालनका लागि कार्यविधिको मस्यौदा बनाएको थियो । मन्त्रालयका सूचना अधिकारी प्रदीप परियारले सञ्चालन कार्यविधि बनाएर सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको बताए । 

‘विभागबाट आएको कार्यविधि सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएका छौं । अहिलेसम्म अर्थबाट सहमति प्राप्त भएको छैन,’ परियारले लोकान्तरसँग भने, ‘सहमति प्राप्त भएपछि मन्त्रिपरिषदमा स्वीकृतिका लागि पठाइन्छ । स्वीकृत भएपछि सञ्चालनमा आउने हो । निजी क्षेत्रलाई पनि दिन सकिने गरी कार्यविधिमा छलफल गरेका छौं ।’

कार्यविधिका लागि विभागका उपमहानिर्देशकको संयोजकत्वमा कार्यदल बनेको छ । 

सम्मेलन केन्द्र एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलको अग्रसरतामा बनेको आयोजना हो । पौडेलले कार्यविधि छिटो बनाएर बीआईसीसी पूर्ण ‘फेज’मा दीर्घकालीनरूपमा सञ्चालन गर्न चासो दिएका छन् । 

सम्मेलन केन्द्रमा १ हजार जना अट्ने गौतमबुद्ध नामक मुख्य सभाहल छ । यससहित २ हजार ७ जना अट्ने क्षमताका १३ वटा साना–ठूला अन्य हलहरू छन् । तिनलाई सम्मेलन, गोष्ठी र भीआईपी बैठक गर्न मिल्ने गरी तयार गरिएको छ । 

स्थानीय तहले सञ्चालन गर्ने भन्दै बुटवल उपमहानगरपालिकाले सम्मेलन केन्द्र निर्माणका लागि बुटवल मण्डपमा रहेको ९ बिघा ६ कट्ठा क्षेत्रफल जग्गा उपलब्ध गराएको थियो । तर, यी दुई सरकारी निकायबीच समन्वय नहुँदा अहिलेसम्म केन्द्र कसले कसरी सञ्चालन गर्ने भन्ने टुंगो लागेको छैन । 

सम्मेलन केन्द्रका आयोजना प्रमुख धर्मेन्द्र पन्थीले मन्त्रालयले बजेट नपठाउँदा विद्युत् महसुल समेत सम्मेलन केन्द्रले तिर्न नसकेको बताए । १० लाख रुपैयाँ विद्युतको महसुल पुगिसकेको छ,’ पन्थीले लोकान्तरसँग भने, ‘विद्युत् प्राधिकरणले लाइन काटिदिन्छु भन्छ । अहिले बन्द गरेर राखिएको छ । बजेट पाइएको छैन ।’

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरपालिकालाई सञ्चालनको अनुमति दिए चलाउन तयार रहेको बताए । उनले अन्य प्रक्रियाबाट भए पनि सञ्चालन गर्न ढिलाइ गर्न नहुने बताए । 

‘हामीलाई चलाउन दिए तयार छौं भनेर अगाडिदेखि नै भन्दै आएका छौं,’ प्रमुख पाण्डेयले भने, ‘चलाउने भएपनि छिटो चलाए हुने । सञ्चालन नहुँदा परिसर जीर्ण होला, उपकरणहरू काम नलाग्ने होलान्, त्यसैले छिटो निर्णय गर्दा हुन्थ्यो ।’ 

सम्मेलन केन्द्र सञ्चालनमा नआउँदा पनि रेखदेख र सरसफाइ खर्च हुने गर्दछ । सम्मेलन केन्द्र परिसरमा दुबो कटिङ र पानी हाल्ने, रूखहरू गोडमेल गर्ने, सरसफाइ र रेखदेखका लागि सुरक्षातर्फका गरेर १८ जना कर्मचारी खटिएका छन् । त्यस्तै, जडान भएको बिजुली नबाले पनि महिनाको ८४ हजार नेपाल विद्युत् प्राधिकरणलाई महसुल तिर्नुपर्ने हुन्छ ।

बुटवललाई महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग जोडेर पर्यटन प्रबर्द्धन गर्न र ग्रेटर लुम्बिनी क्षेत्रभित्र पूर्वाधार विकास गर्न भन्दै बनाइएको सम्मेलन केन्द्र आकर्षक र अत्याधुनिक छ । आधुनिक किसिमले बनाइएको हललाई आकर्षक किसिमले सिंगारिएको छ । 

प्रयोग भएका सामग्री र त्यसको सजावट उन्नत र अन्तर्राष्ट्रिय प्रविधिका छन् । बाल्कोनीसहितका हलमा आकर्षक तरिकाले कुर्सी र साउन्ड सिस्टम जडान गरिएको छ । सम्मेलन केन्द्र निरन्तर सञ्चालनमा नआए ती सामान बिग्रँदै जाने इन्जिनीयरहरू बताउँछन् । 

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजूले सम्मेलन केन्द्र सञ्चालनमा ढिलाइ गर्न नहुने बताउँछन् । सम्मेलन केन्द्रमा दुईवटा भवन छन् । ती राष्ट्रिय झण्डाको चन्द्रसूर्य आकारका छन् । चन्द्र आकारमुनि दुईवटा ठूला हल छन् भने सूर्य आकारको भवनमा ११ वटा हल छन् । केन्द्रभित्रै दुईतले भवनमा व्यावसायिक क्षेत्र, रेस्टुराँ, बैंक एटीएम, खाजा घर र प्रशासनिक कामका लागि छुट्टाछुट्टै कोठा निर्माण गरिएको छ । कर्मचारीका लागि तीन तलाको छुट्टै आवासगृह छ । सम्मेलन केन्द्रको चारैतिर आकर्षक चारवटा प्रवेशद्वार बनाइएको छ । हेलिप्याडसहित ४०० गाडी र ४००  मोटरसाइकल अटाउने क्षमताको खुला पार्किङ छ । 

केन्द्रमा विशिष्ट व्यक्तिहरू सिधै आउनका लागि सभाहल परिसरभित्र नै हेलिप्याड बनेको छ । लिफ्टको सुविधासहित बनेको सभाहलमा विद्युत आपूर्ति टान्फर्मरसँगै ठूलो क्षमताको जेनेरेटर जडान गरिएको छ ।

सम्मेलन केन्द्र सञ्चालन हुँदा पानीको माग धेरै हुने भएकाले खानेपानी र अन्य प्रयोजनका लागि छुट्टै बोरिङको व्यवस्था गरिएको छ । १० हजार प्रतिघण्टा वाटर ट्रिटमेन्ट प्लान्टलगायत ८० हजार लिटर क्षमताका ४ वटा अन्डर ग्राउन्ड पानी ट्याङ्की निर्माण गरिएको छ । 

त्यसैगरी कुनै कारणवश आगलागी भयो भने तत्काल आगो निभाउनका लागि हरेक हल र प्यासेज क्षेत्रमा फायर फाइटिङको व्यवस्था गरिएको छ । त्यसका लागि सम्मेलन केन्द्र परिसरमा ८० हजार लिटरको अन्डरग्राउन्ड ट्याङ्की र सातवटा अटोमेटिक पम्प जडान गरिएको छ । आकर्षण थप्नका लागि सम्मेलन केन्द्रमा रहेको खुला क्षेत्रमा दुबो र रुख रोपिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्