नेपाल आईसीसी विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल क्वालिफायरमा पुगेको छ ।
पूरा ओभर खेल हुन नसकेपछि यूएईलाई डीएल मेथोडमा ९ रनले पराजित गर्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको हो ।
४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको अवस्थामा खराब मौसमका कारण खेल हुन नसकेको हो ।
नेपालले ३११ रनको विजयी लक्ष्य पछ्याएको थियो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले पूरा ओभर खेल्दै ३१० रन बनाएको थियो।
विशाल लक्ष्य पछ्याएको नेपालले खराब शुरूआत गरे पनि मध्यक्रममा उत्कृष्ट खेल पस्केको थियो।
नेपालका लागि ४ जना ब्याटरले अर्धशतक पूरा गरे। कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख र गुल्सन झाले नेपालका लागि अर्धशतक खेल्दै इनिङ उकासे ।
नेपालका कप्तान रोहित पौडेल आज मात्र १६ रन बनाएर आउट भएका थिए । कीर्तिपुर मैदानमा खेल हेर्न बिहानै (झिसमिसे) मै खेलप्रेमीहरू पुगेका थिए।
आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपाललाई जित्नैपर्ने दबाब थियो।
यो जीतसँगै ३६ खेलबाट नेपालको ४० अंक पुगेको छ । ३९ अंक जोडेको नामिबिया चौथो स्थानमा झरेको छ ।