
सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले संगठनमा कुनै पनि व्यक्ति विशेषको दया मायाले होईन पद्धतीले सबैलाई समान र न्यायोचित अवसर प्रदान गर्ने दिशामा अघि बढिरहेको बताएका छन् ।
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सिनियर अधिकृतको लागि संचालित विभिन्न उन्नत तालिमको प्रथम प्रवचन तथा समापनमा बोल्दै उनले भने– ‘कुनै पनि संगठन व्यक्ति विशेषले मात्र निर्माण र सुधार गर्ने विषय होईन संंगठन बलियो हुन त्यहाँ कार्यरत हरेक कर्मचारीमा सकारात्मक सोच र त्यागको भावना हुनुपर्दछ ।’
उनले थपे– ‘बर्तमान अवस्थामा संगठन अभावमा होला तर कसैको दवाब र प्रभावमा पर्ने छैन, हाम्रा न्यायका आँखाले तपाईहरु सबैलाई समान देख्ने छ, ढुक्क हुनुहोला ।’
आपसी बन्धुत्व भाईचार राख्दै मैले मात्र होईन हामी सबैले अवसर प्राप्त गर्नुपर्छ भन्ने भावना चाहे त्यो सरुवा बढुवाको विषय सेवा सुविधाको विषयमा हामी सबैमा हुनुपर्ने उनले बताए ।
तपाई संगठनमा एउटा सामान्य सदस्य मात्र होईन विशेष हुनुहुन्छ, हरेक सदस्यसँग संगठन बदल्न सक्ने क्षमता हुन्छ,’ अर्यालले भने, ‘आफ्नो त्यो क्षमतालाई कार्यक्षेत्रमा लगानी गरी व्यक्तिगत स्वार्थ, आग्रह र पूर्वाग्रहलाई थाती राख्दै आफ्नो कमाण्ड र नेतृत्वसँग हातेमालो गर्दै संगठन विकासको एउटै लक्ष्यका साथ अघि बढ्नुहोला ।’
समान अवसर र संगठनको चेनअफ कमाण्डलाई बलियो बनाउन र सरुवालाई न्यायोचित गर्न सशस्त्र प्रहरी बलले ‘सुरक्षा वेश अदली बदली निर्देशिका २०७९’ लागू गरेको छ ।
जस अनुसार शुक्रबार मात्र हाल बिओपी रहेका प्रस्तावित ४५ वटा सीमा सुरक्षा गुल्ममा पहिलो पटक डिएसपी खटाईएको छ, भने देश भरिका २८ वटा सुरक्षा वेशमा समेत डिएसपी खटाएको सशस्त्रले जनाएको छ । अब डिएसपीले कमाण्ड गर्ने प्रस्तावित सीमा सुरुक्षा गुल्म मातहत २ देखी ५ वटा बिओपी रहने छ । कमाण्डर खटाउँदा यसअघि पूर्वानुमान सूची प्रकाशित गरिएको थियो । त्यसैको आधारमा कमाण्डको अवसर प्राप्त नगरेकालाई पहिलो र कम अवसर प्राप्त गरेका अधिकृतलाई दोश्रो प्राथमिकतामा राखी कमाण्डको जिम्मेवारी दिएको सशस्त्रले जनाएको छ ।
यस्तै सेवा अवधिका आधारमा अवकाश हुन कम समय बाँकी रहेका र विगतमा कम कमाण्डको अवसर प्राप्त गर्ने अधिकृतलाई समेत कमाण्डमा खटाएको छ । पहिले १/१ वर्ष रहेको बिओपी कमाण्ड अब ६/६ महिना हुने छ, मुख्य नाका र भन्सार तथा संवेदनशिल ठाउँका बिओपी तथा वेशमा डिएसपी खटाएको छ ।