
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
२०७७ सालदेखि अहिलेसम्म ८१ जनालाई उनीहरूले अमेरिका पठाइदिने बहानामा साढे १३ करोड रुपैयाँ ठगी गरेको अपराध अनुसन्धान कार्यालयका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका–४ सितापाखा हाइट बस्ने ५० वर्षीय सानु भण्डारी, मोरङ पथरी शनिश्वरे नगरपालिका-१० का ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथर फिदिम नगरपालिका–७ का ४५ वर्षीय टंककुमार गुरुङलाई पक्राउ गरेको हो ।
प्रहरीको अनुसन्धानअनुसार उनीहरूले चिनजान भएका व्यक्ति र उनीहरूका आफन्तबाट प्रतिव्यक्ति १५ देखि २० लाख उठाएको देखिन्छ।
उनीहरूले भुटानी शरणार्थीको नाममा दर्ता गर्ने गृह मन्त्रालय र शरणार्थी समितिका उच्च अधिकारीहरूसँग सेटिङ मिलाएको भन्दै गृह मन्त्रालय, श्रम मन्त्रालय र शरणार्थीसँग सम्बन्धित विभिन्न निकायसँग सम्बन्धित पत्र, निर्णयहरू एवं पत्रपत्रिका र अनलाइनहरूमा आएका फोटो र न्यूजहरू तथा शरणार्थी समस्या हेर्ने विभिन्न निकायका कर्मचारीहरूको सरुवासम्बन्धी समाचार समेत पीडितहरूलाई सेयर गरी शतप्रतिशत काम हुन्छ हुन्छ भनेर ठगी गरेको खुलेको छ ।
शरणार्थी शिविर अनुगमन हुन लागेको बायोमेट्रिक गर्नुपर्ने भन्दै पथरी, बेलडाँगी, विराटनगर,सौराहा, काठमाडौँ बोलाउने गरेको अनुसन्धानबाट खुलेको छ ।