
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आफूले कसरी रक्षामन्त्री रोजेको प्रष्ट्याएका छन् । शपथको भोलिपल्ट ललितपुुरको बाँडेगाउँस्थित किसुनजीको आश्रममा पुगेर खड्काले गृह र अर्थबाहेकका १९ वटा मन्त्रालयबाट छान्ने सुविधा आफूलाई मिलेको पनि बताए ।
‘प्रधानमन्त्री र हाम्रो पार्टी सभापलिते गृह र अर्थको टुंगो लागेपछि अब १९ वटा मन्त्रालय बाँकी छन् । यसमा तपाईंले छानेर मन्त्रालय लिन सक्नुहुन्छ भन्नुभयो’ खड्काले सञ्चारकर्मीसँग भने, ‘उहाँहरूले सोचेर जवाफ दिनुस् भनेर १९ मन्त्रालयमध्ये रोज्न भन्नु नै मेरो लागि ठूलो सौभाग्यको कुरा हो ।’
त्यसपछि बल्ल आफूले अध्ययन गरेर रक्षा मन्त्रालय रोजेको जिकिर उनले गरे ।
‘उहाँहरू दुवैले भनेपछि मैले १९ वटै मन्त्रालयको अध्ययन गरे । मुलुक र सुरक्षाको सन्दर्भमा, अहिले नेपालको सामरिक भूमिको महत्व बढ्दै गएको सन्दर्भमा, मैले मुलुकको सुरक्षा, राष्ट्र नीतिको निर्माण, कार्यनीत–रणनीतिको निर्माण र नेपालको रक्षाको जिम्मा लिएको नेपाली सेनासँग जोडिएको मन्त्रालय र समग्र रूपमा सबैभन्दा जिम्मेवार सबैभन्दा ठूलो, सबैभन्दा विशाल मन्त्रालय मैले रक्षा मन्त्रालय देखेँ’ उनले सञ्चारकर्मीसँग भने, ‘त्यसपछि मैले नेताहरूलाई गएर म रक्षामन्त्री बन्छु भनेँ ।’
खड्काले शुरूमा गृह मन्त्रालय चाहेका थिए । तर गृह यसपटक माओवादीले नछोडने अडान लियो । त्यसपछि उनले अर्थ मन्त्रालय पनि लिएर सरकारमा जान सक्ने मानसिकता बनाएका थिए । तर सभापति शेबरहादुर देउवा र उनकी पत्नी आरजुको जोडबलमा डा. प्रकाशरण महत अर्थमन्त्री हुन पुगे । यसपछि पनि खड्का परराष्ट्र मन्त्री बन्ने हल्ला थियो । तर उनी आफैंले रोजेरी रक्षा मन्त्रालय लिएको जिकिर गरेका छन् ।
यस अघि उनी गृहमन्त्री भइसकेका छन् ।
खड्कासँग उदयशमशेर राणासहितका ललितपुर कांग्रेसका नेताहरू बाँडेगाउँ पुगेका थिए ।