
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताएका छन् ।
गल्लीगल्ली संस्थाद्वारा वीरेन्द्रनगर सुर्खेतमा शनिवार आयोजित ‘शिक्षाको वार्षिक स्थिति प्रतिवेदन (असर) कर्णाली २०७८’को वार्षिक प्रतिवेदन विमोचन कार्यक्रममा उनले शिक्षा समग्र चीजको आर्थिक आधार एवं मूल जग रहेको बताए ।
पछिल्लो समय शिक्षा श्रमबाट विमुख भएको पनि उनले जिकिर गरे ।
मुख्यमन्त्री शर्माले भने, ‘हाम्रो शिक्षा प्रविधिमैत्री बन्न सकेन । यसबाट व्यक्तिको चरित्र निर्माण गर्न भएन । यसमा विनियोजित बजेटको समेत परिचालन सहि तरिकाले हुन सकेन । तसर्थ व्यवस्थापकीय र सञ्चालन क्षमता बढाउनु आवश्यक छ ।’
शिक्षाको आमूल परिवर्तनका लागि तीनै तहका सरकारहरूले नीतिगत र व्यवस्थापकीय तहबाट सुधार गर्नुपर्ने उनको भनाइ थियो ।
कर्णाली प्रदेश सरकारका प्रमुख सचिव डा. गोपीकृष्ण खनालले विद्यालयमा बालबालिकाको पहुँच बढे पनि सिकाइस्तर अपेक्षाकृत हुन नसकेको बताए । लैंगिक समानता र विद्यार्थी संख्या बढेको छ,’ उनले भने, ‘तर गणित र विज्ञानमा अहिले पनि विद्यार्थीहरू कमजोर छन् । प्रमुख सचिव डा. खनालले डिजिटल सुशासन र साक्षरताले पनि कर्णालीको विकासमा सहयोग पुग्ने जनाए ।
कार्यक्रममा गल्लीगल्ली संस्थाका प्रतिनिधि राजीव तिमिल्सिनाले सिम्ता गाउँपालिका सुर्खेत, सान्नीत्रिवेणी गाउँपालिका कालीकोट, सिद्धकुमाख गाउँपालिका सल्यान, शिवालय गाउँपालिका जाजरकोट र डुंगेश्वर गाउपालिका दैलेखका ५ देखि १६ वर्ष उमेरका बालबालिकाहरूको नेपाली गणित र अंग्रेजी विषयको आधारभूत सिकाइ मापन गरिएको तथ्यांक प्रस्तुत गरेका थिए ।
डुंगेश्वर गाउँपालिका दैलेखका अध्यक्ष सुन्दरकुमार केसी र सिद्धकुमाख गाउँपालिकाका अध्यक्ष भरत गिरीले असर नेपालको अनुसन्धानबाट प्राप्त कुराले स्थानीय सरकारलाई आगामी दिनमा शैक्षिक क्षेत्रको सुधारको योजना निर्माणमा सहयोग पुग्ने बताए । यद्यपि प्राप्त तथ्यांकहरूको प्रमाणीकरण गरेर मात्र अगाडि बढ्ने अध्यक्षद्वयको भनाइ थियो ।