२१ असार २०८३, आइतबार

सबैको प्रहार मैमाथि छ, तैपनि पहिलेभन्दा मतान्तर बढाउँछु- रवि लामिछाने

सबैको प्रहार मैमाथि छ, तैपनि पहिलेभन्दा मतान्तर बढाउँछु- रवि लामिछाने
फाइल तस्वीर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ का उम्मेदवार रवि लामिछानेले सबैको प्रहार आफूमाथि रहे पनि विगतभन्दा मतान्तर बढाएर चुनाव जित्ने दाबी गरेका छन् ।

आफ्नै केही कमजोरी र बाहिरको षडयन्त्रका कारण पुनः चुनाव लड्नुपरेको उनले बताए । 

शुक्रवार कालिका नगरपालिकाको लामाचोकमा आयोजित कार्यक्रममा लामिछानेले चितवनका जनताको मन जितिसकेका र त्यसमा लालमोहर लगाउन उपनिर्वाचनमा होमिएको बताएका हुन् । 

‘यसअघि दिएको मतबाट ५ वर्ष काम गर्न पाइनँ, केही मेरै त्रुटि र षडयन्त्रका बीचमा उभिनुपरेको छ । सबैको प्रहार मलाइ भएको छ, झटारो त्यहीँ हानिन्छ, त्यही रुखमा झटारो हानिन्छ । यसपटक मलाई विश्वास छ, यसअघि भन्दा मतान्तर बढाउनु हुनेछ’, लामिछानेले भने । 

ठूला दलले आफ्ना कार्यकर्तालाई रास्वपाको कार्यक्रममा सहभागी नहुन निर्देशन दिइरहेको लामिछानेले आरोप लगाए ।

‘फेरि भोट खेर जान्छ भनेर तर्साउन खोजिएको छ, कसैलाई षडयन्त्रबाट होइन मतदानबाट हराउन सकिन्छ’, उनले भने । वैशाख १० गते हुने उपनिर्वाचनका लागि लामिछानेले प्रचार प्रसारको काम तीव्र बनाएका छन् ।  

कमेन्ट गर्नुहोस्