
वैशाख १० मा हुने उपनिर्वाचनमा कांग्रेसले आफ्ना उम्मेदवार भएका दुवै क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ ।
४ मंसिरमा रामचन्द्र पौडेल (हाल राष्ट्रपति)ले जितेको तनहुँ– १ र रास्वपाका रवि लामिछानेसँग पराजित भएको चितवन २ को उपनिर्वाचनलाई कांग्रेसले प्रतिष्ठाको विषय नै बनाएको छ ।
गत निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको कांग्रेसले तनहुँको नतिजा रक्षा गर्ने र चितवनको नतिजा उल्ट्याउने गरी तयारी गरिरहेको हो ।
४ मंसिरमा तनहुँ– १ बाट पौडेलले ५ हजार ३८० मतान्तरले जितेका थिए । उनले २५ हजार ३६१ मत ल्याउँदा प्रतिस्पर्धी एमालेका एकबहादुर राना मगरले १९ हजार ९८१ मत ल्याएका थिए ।
जिल्लाको राजनीतिमा सधैं पौडेलका प्रतिद्वन्द्वी रहँदै आएका गोविन्दराज जोशीले स्वतन्त्र उठेर ६ हजार ८८६ मत ल्याएका थिए । राष्ट्रिय स्वतन्त्रका पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत ल्याएका थिए ।
कांग्रेसले तनहुँ– १ मा यसपटक जिल्लाकै नेता एवं केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ ।
उनी सत्ता गठबन्धनतर्फ कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्तिसहितका पार्टीका साझा उम्मेदवार हुन् । परम्परागत रूपमा कांग्रेसको पकड रहेको र जित्दै आएको क्षेत्रमा सत्ता गठबन्धनसमेतको सहयोगमा लोकप्रिय र इमान्दार नेता उठाएकाले कांग्रेस यसपटक जित्नेमा ढुक्क जस्तै छ ।
उनीविरुद्ध रास्वपाले पनि अर्थविद् स्वर्णिम वाग्लेलाई उठाएको छ । उनी कांग्रेस परित्याग गरी रास्वपा पुगेर उम्मेदवार बनेका हुन् ।
एमालेले पूर्व आईजीपी सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ । खनाल गत निर्वाचनमा काठमाडौं– ६ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए ।
तनहुँ कांग्रेस जिल्ला सभापति जीतप्रकाश आले यसपटक प्रतिस्पर्धी उम्मेदवार जो भए पनि पहिलेको भन्दा राम्रो मतान्तरले कांग्रेस विजयी हुने दाबी गरे ।
‘निर्वाचन स्टन्टबाज र सेलिब्रिटीहरूका लागि होइन, यहाँका जनताले आफ्नो प्रतिनिधि छान्ने कुरा हो । जनताको मर्म, दुःख सबै बुझेको, आत्मसात गरेको, माटोले चिनेको, माटोलाई जानेको जनप्रतिनिधि हुनुपर्छ,’ आले भन्छन्, ‘यो हिसाबमा अन्य दलका उम्मेदवारले तनहुँमा कुनै रगत पसिना बगाएका छैनन् । जनतासँग सम्पर्क र उनीहरूका दुःख मर्मबाट टाढा छन् । यसैले ५० औं वर्षमा भूगोलमा बसेर माटो चिनेका, जनताको दुःख बुझेका गोविन्दजीले यसपटक सहजै निर्वाचन जित्नुहुन्छ ।’
पार्टीमा सामान्य पोजिसनबाहेक कुनै प्रभावशाली र लाभका पद नलिएका भट्टराईप्रति मतदाताको अगाध स्नेह र सम्मान रहेको उनी बताउँछन् ।
‘४५ वर्षदेखि संगत गर्दै आएको छु । उहाँले निरन्तर नेविसंघ र पार्टीमा राजनीति गर्दै आउनुभएको छ । सार्वजनिक पद र लाभको पद लिनुभएको छैन । पद नपाउँदा पनि निरन्तर लाग्नुभएको थियो । टिकट नपाउँदा अरू अर्को पार्टीमा लाग्छन्, तर उहाँ अनुशासित भएर पार्टीमै क्रियाशील हुनुहुन्छ,’ आले भन्छन्, ‘यसैले यसपटक तनहुँमा अनुशासित, साधारण र भरोसायोग्य नेताका रूपमा गोविन्दजी जनताको प्रतिनिधि बन्दै हुनुहुन्छ । रामचन्द्र पौडेलको भन्दा बढी मत ल्याएर चुनाव जित्छौं ।’
प्रभावशाली नेताको लर्को भएको तनहुँमा नेताबीच नै सधैं कटाक्ष हुने गर्छ । तर यसपटक पार्टीभित्र बेमेल नरहेको र गठबन्धन दलको पनि सहयोग रहेकाले सहजै चुनाव जितिने हिसाब आलेको छ ।
‘तनहुँ कांग्रेसका बेमेल हुँदा पनि चुनाव जितेको इतिहास छ । तर, यसपटक पार्टीभित्र बेमेल छैन । यसअघिका बेमेल व्यवस्थित गर्नु हाम्रो चुनौती थियो । यसपटक सहज छ,’ उनी भन्छन्, ‘आन्तरिक एकता र सत्ता गठबन्धन दलको सहयोगले पनि हामीलाई चुनाव जित्न कठिनाइ छैन ।’
को–को खटिएका छन् ?
महामन्त्री गगन थापासँग निकटतम् सम्बन्ध भएका स्वर्णिम वाग्लेलाई रास्वपाले टिकट दिएपछि उम्मेदवारी मनोनयन गराउन नै कांग्रेसले थापालाई तनहुँ खटाएको थियो । उनले तनहुँ पुगेर वाग्लेलाई टुरिस्ट र अवसर छोप्ने नेता भन्दै आलोचना गरेका थिए ।
त्यसयता कांग्रेसले तनहुँबाटै चुनाव जितेका शंकर भण्डारीलाई प्रतिनिधि बनाएर खटाएको छ । निर्वाचनका लागि सत्ता गठबन्धनबाट उनी पार्टीको हाइकमान्ड संयोजक बनाइएका छन् । भण्डारी निरन्तर चुनावी प्रचारका स–साना कार्यक्रममा पनि पुगिरहेका छन् ।
मंगलवार मात्रै अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि तनहुँ पुगेर चुनावी परिचालन तयारीसम्बन्धी बैठकमा सहभागी भएको जिल्ला सभापतिले जानकारी दिए । निर्वाचनको चार दिनअघि ६ वैशाखमा शर्मा नेविसंघको स्थापना दिवसको अवसर पारेर फेरि तनहुँ पुग्दैछन् ।
तनहुँकै प्रदीप पौडेल पनि चुनावी प्रचारमा खटिएका छन् ।
‘महामन्त्रीद्वय नै तनहुँ आएर हाम्रो उम्मेदवारको पक्षमा माहोल बनाइसक्नुभएको छ । पार्टीले प्रतिनिधि बनाएर खटाएपछि शंकर भण्डारी निरन्तर चुनावी प्रचारमा हुनहुन्छ,’ आलेले भने, ‘जिल्लाबाटै प्रतिनिधित्व गर्ने ध्रुव वाग्लेसहितका नेता पनि भट्टराईलाई जिताउन निरन्तर खटिनुभएको छ ।’
निर्वाचन अनुगमन तथा सहजीकरणका लागि जिल्ला सभापतिको नेतृत्वमा समिति गठन गर्ने, निर्वाचन परिचालन समितिलाई बुथसम्म लाने र यसमा सत्ता गठबन्धन दलका प्रतिनिधिलाई पनि समावेश गर्ने काम भइरहेको उनी बताउँछन ।
चुनावी माहोलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेतालाई तनहुँ ल्याउने कार्यक्रम बन्दै गरेको जानकारी उनले दिए ।
जोशीलाई विश्वासमा लिने
पौडेलविरुद्ध ६ हजार ८८६ मत ल्याएका गोविन्दराज जोशीलाई पनि यसपटक कांग्रेसको पक्षमा लाग्न दबाब बढाइएको छ । उनी आफैंले पनि यसपटक निष्पक्ष बस्ने घोषणा गरिसकेका छन् । सभापति देउवाले उनका छोरा दीपकलाई बोलाएर पार्टीमा भूमिका दिने आश्वासन पनि दिइसकेका छन् ।
‘योभन्दा अगाडिका निर्वाचनमा कांग्रेस हराउने नेतृत्व गोविन्दराज जोशीले लिनुभएको थियो । यसपटक निष्पक्ष बस्नेछु भन्नुभएको छ । यो पार्टीप्रतिको सकारात्मक दृष्टिकोण हो । अन्तिमसम्म पार्टीको लाइनमा आउनुहुन्छ भन्ने छ । किनकी यो पार्टी बनाउन उहाँको रगत पसिना पनि बगेको छ,’ सभापति आले भन्छन्, ‘सभापतिले पनि बोलाएर पार्टीमा एडजस्ट गरेर मिलाउने आश्वासन दिनुभएको छ । निष्कर्षमा नपुगे पनि उहाँ पार्टीमा एडजस्ट हुनुहुन्छ । म आफूले पनि कुरा गरेको छु ।’
चितवन २ मा त्रिपक्षीय प्रतिस्पर्धामा बाजी मार्ने कांग्रेसको दाउ
चितवन– २ मा जितेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको नागरिकता प्रकरणमा सांसद पद खारेज भएपछि फेरि उपनिर्वाचन हुन लागेको हो । रविले ३४ हजार ३१२ मतान्तरको फराकिलो जीत हात पारेका थिए ।
लामिछानेले ४९ हजार ३००, कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत प्राप्त गरेका थिए ।
उपनिर्वाचनमा रास्वपाबाट रवि नै फेरि चुनावी मैदानमा उत्रिएका छन् । तर उनलाई काउन्टर दिन कांग्रेस र एमाले दुवैले स्थानीय उम्मेदवारलाई अघि सारेका छन् । कांग्रेसले पूर्व सभापति एवं युवा नेता जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । एमालेले पनि जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई अगाडि सारेको छ ।
अघिल्लोपटक देशभरकै १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा फराकिलो अन्तरले जितेका रवि यसपटक पनि जित्नेमा ढुक्क छन् । तर, स्थानीय उम्मेदवार उठाएका कांग्रेस र एमाले आफ्नो भोट फर्काउँदै उनलाई टक्कर दिने दाउमा छन् ।
चितवन २ मा कांग्रेसले यसअघि रास्वपातिर गएको मतलाई फर्काउने नीति लिएको छ । यसअघि रविले आफ्नो संगठन र भोटको बलमा नभई कांग्रेस र एमालेबाटै गएको मतबाट जितेको भन्दै यसलाई जोगाउने नीतिमा कांग्रेस छ । कांग्रेसले यसपटक आन्तरिक विवादलाई पनि मिलाउने प्रयास गरेको छ ।
कांग्रेस र एमाले दुवै दलले आफ्नो भोट सुरक्षित गर्दा रविको भोट घट्ने र त्रिपक्षीय प्रतिस्पर्धा हुने बुझाइ कांग्रेसको छ ।
‘स्थानीय उम्मेदवार नहुँदा अघिल्लोपटक चितवनमा कांग्रेसको बिजोग भएको हो । तर, यसपटक वडातहसम्मै पहुँच र पहिचान बनाएका उम्मेदवार हुनुको फाइदा कांग्रेसलाई छ,’ चितवनकै एक नेता भन्छन्, ‘कांग्रेस र एमालेले भोट सुरक्षित गर्दा यसपटक त्रिपक्षीय भिडन्त हुने देखिन्छ । यसमा कांग्रेसले जित्छ भन्ने हाम्रो हिसाब छ ।’
यसअघि एमालेको सहयोगमा चितवन– ३ बाट चुनाव लडेका दिनेश कोइरालाले कांग्रेस उम्मेदवारलाई भोट हाल्न अपिल गरिसकेका छन् ।
उनीमाथि गरेको कारबाहीलाई पार्टीले फुकुवा गरेपछि यसपटक चितवनमा कांग्रेसको पक्षमा राम्रो माहोल बन्ने विश्वास पार्टी पंक्तिको छ ।
अघिल्लोपटक पार्टी केन्द्रको पहुँचमा व्यापारी उमेश श्रेष्ठले टिकट लगेपछि स्थानीय पार्टीपंक्ति असन्तुष्ट थियो । तर, नेविसंघको राजनीतिबाट कांग्रेसमा स्थापित भएका जीतनारायण उम्मेदवार बन्दा आन्तरिक असन्तुष्टि धेरै नै कम भएको नेताहरू बताउँछन् ।
चितवन कांग्रेसका सभापति राजेश्वर खनाल कांग्रेसको आन्तरिक अवस्था सुधार, सत्ता गठबन्धन दलको शक्ति र अघिल्लोपटक जितेका रवि लामिछानेले चितवनबासीको शीर निहुर्याएकाले यसपटक कांग्रेसले परिणाम उल्ट्याउने दाबी गर्छन् ।
‘अघिल्लोपटक फरक परिस्थिति बन्यो । तर, यसपटक सबै मतदाताले परिस्थिति बुझिसके । अनागरिकले निर्वाचन लड्दा गल्ती गरियो, हाम्रो शीर निहुरियो भन्ने धेरै मतदातालाई लागेको छ । यसैले धेरै मतदाता गल्ती सच्याउनुपर्छ भन्नेमा पुग्नुभएको छ,’ खनालले लोकान्तरसँग भने, ‘हामीले अहिले आन्तरिक व्यवस्थापनलाई बलियो गरी सुधार गरेका छौं । हाम्रो साथमा सत्ता गठबन्धन छ । र, यो ठाउँको विकास गर्ने नै हामीले हो भन्ने भएको छ । यसैले अघिल्लोपटकको निर्वाचनको नतिजालाई उल्ट्याएर निर्वाचन जित्छौं ।’
निर्वाचनको मुखैमा रास्वपाका सांसदले पार्टीका लागि भन्दै २ करोड घुस मागेको अडियो सार्वजनिक भएपछि विपक्षीका लागि यो पनि मसलाको विषय बनेको छ ।
कांग्रेसका कमान्डर महामन्त्री शर्मा
कांग्रेसले चितवनमा पार्टीको पक्षमा माहोल बनाउन उम्मेदवारी मनोनयनदेखि नै महामन्त्री विश्वप्रकाश शर्मालाई खटाएको छ । उनी चितवनमै बसेर चुनावी प्रचारप्रसारमा व्यस्त छन् । कार्यक्रम मिलाएर तनहुँ पनि पुगिरहेका छन् ।
निर्वाचन परिचालन समितिले चुनावी प्रचारलाई बुथबुथसम्म पुर्याउने गरी प्रचारप्रसार जुटिरहेको सभापति खनाल बताउँछन् ।
प्रचार र माहोललाई अझै बलियो एवं प्रभावकारी बनाउन सत्ता गठबन्धनका शीर्षस्थ नेतालाई चितवनमा उतार्ने तयारी भइरहेको जानकारी पनि उनले दिए ।
चितवन– २ मा कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाका पूरै वडा पर्छन् । भरतपुर महानगरपालिकाका १ देखि ५, ७, १०, ११, १२ र २९ गरी १० वटा वडा पर्छन् । गत स्थानीय तहको निर्वाचनमा कालिका नगरपालिकाको मेयरमा एमालेले कांग्रेसलाई १४३ को साँघुरो अन्तरले पराजित गरेको थियो ।
इच्छाकामना गाउँपालिका पनि एमालेले नै जितेको थियो । यी दुई पालिकामा एमाले राम्रो प्रभाव रहेको बताइन्छ । तर, भरतपुरको वडामा अफूहरूको प्रभाव रहेको कांग्रेसको दाबी छ । तर पनि रविले अघिल्लोपटक भरतपुरका वडामा भारी मतको अग्रता बनाएका थिए ।
४ मंसिरमा रविले प्रत्यक्षमा ४९ हजार भोट कटाउँदा समानुपातिकमा भने रास्वपाले ३६ हजार भोट ल्याएको थियो । प्रत्यक्षमा १५ हजार भोट ल्याएको कांग्रेसको समानुपातिकमा १२ हजार भोट आएको थियो । प्रत्यक्षमा साढे १४ हजार भोट ल्याएको एमालेले समानुपातिकमा १७ हजार भोट ल्याएको थियो ।