
काठमाडौं महानगरपालिकाले अव्यवस्थित तार व्यवस्थापन कार्य शुरू गरेको छ । महानगरले सोमवार बिहान माइतीघर मण्डला क्षेत्रबाट अव्यवस्थित तार व्यवस्थापन शुरू गरेको हो ।
महानगरपालिकाले सम्बन्धित निकायसँगको समन्वयमा तार व्यवस्थापन गर्न शुरू गरेको महानगरका महानगरीय प्रहरी निरीक्षक ईश्वर वाग्लेले बताए । उनले यो अभियान काठमाडौंभरका अव्यवस्थित तार नहटाएसम्म जारी रहने उल्लेख गरे ।
काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीच आइतवार बसेको बैठकले सोमवारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।
यसअघि काठमाडौं महानगरपालिकाले १५ दिनको समय दिएर वैशाख २७ गते भित्र तार व्यवस्थापन नगरे तार काटिदिने सूचना सार्वजनिक गरेको थियो ।