३० जेठ २०८३, शनिबार

भारत भ्रमणका क्रममा हुने सम्झौतामा राष्ट्रिय सहमति हुन्छ : प्रधानमन्त्री

भारत भ्रमणका क्रममा हुने सम्झौतामा राष्ट्रिय सहमति हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, विभिन्न दलका नेता र परराष्ट्र मामिलाका जानकारहरुसँग सुझाव लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित कार्यक्रममा उनले आफ्नो आसन्न भारत भ्रमणलाई फलदायी बनाउने सन्दर्भमा सुझाव लिएका हुन् ।

पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, विभिन्न दलका नेता र यस क्षेत्रका विज्ञहरुसँग सुझाव लिने क्रम निरन्तर रहेको जनाउँदै प्रधानमन्त्री दाहालले भने, “अहिलेसम्म सबैको सुझाव सकारात्मक छ, सबैले राष्ट्रको हितमा के गर्नुपर्छ भन्ने सकारात्मक सुझाव दिनुभएको छ ।”

सञ्चारकर्मीले यस पटक गरिने सम्झौताहरुमा राष्ट्रिय सहमति हुन्छ भनी गरिएको प्रश्नमा उनले भने, “राष्ट्रिय सहमति हुन्छ ।” प्रधानमन्त्री  दाहालले यही जेठ १७ देखि २० गतेसम्म (मे ३१ देखि जुन ३ तारिख) छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमण गर्दैछन् । प्रधानमन्त्री दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा सो भ्रमणमा जान लागेका हुन् ।
 
कार्यक्रममा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफूले द्विपक्षीय सम्बन्ध राम्रो बनाउन सर्वप्रथम दुई देशबीच विश्वासको वातावरण हुनुुपर्ने सुझाव दिएको बताए । साथै उनले प्रधानमन्त्री दाहाललाई दुई देशबीचका विभिन्न मुद्दा समाधानका लागि प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदन ग्रहण गर्नुपर्ने बताउँदै यसले समग्रतामा हल हुने सुझाव दिएको सञ्चारकर्मीलाई जानकारी दिए । 
 
पूर्वपरराष्ट्रमन्त्री डा नारायण खड्काले कार्यक्रममा प्रधानमन्त्री दाहालले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन र आर्थिक व्यापारिक, वाणिज्य, ऊर्जालगायत विविध विषयमा छलफल र सहमति हुने जानकारी गराएको बताए । 

सो अवसरमा पूर्वमन्त्री खड्काले राष्ट्रको हितलाई सर्वोपरि ठानेर आत्मविश्वासका साथ आफ्ना कुरा राख्न सुझाव दिएको जानकारी गराए । 
 
अर्का पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको राष्ट्रिय हितमा दृढतापूर्वक उभिँदा प्रमुख प्रतिपक्ष दलको हिसाबले पूर्ण समर्थन हुने आफूले बताएको जानकारी दिए । 

पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले राष्ट्रिय हित, राष्ट्रिय स्वार्थ र नेपाली जनताको आत्मसम्मानलाई दृष्टिगत गरेर तथा केन्द्रित भएर मित्रराष्ट्र भारतसँग आपसी हितका कुराकानी गरेर विश्वासको वातावरण बनाउन सुझाव दिएको बताए । 
 
पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले प्रधानमन्त्री दाहालले दुई देशबीच सहयोगका बारेमा यसपालि सहमति बन्ने, समझदारी हुने र केही विषयमा सम्झौतामा हस्ताक्षर हुने जानकारी गराएको बताउँदै सिमानाको विषय समाधानका लागि अध्ययन गरेर दह्रो भएर कुरा राख्न आफूले सुझाव दिएको जानकारी गराए ।  
 
प्रधानमन्त्री दाहालले यसपटकको भारत भ्रमणका क्रममा भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । 

salt training

कमेन्ट गर्नुहोस्