
लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा विनियोजन विधेयक २०८० प्रस्तुत गरेको छ ।
आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आइतवार सभामा आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकमाथि छलफल गरियोस् भनीे प्रस्ताव प्रस्तुत गरेका छन् ।
प्रस्तुत विधेयकमाथि सोमवार १२ बजे बस्ने बैठकमा छलफल हुनेछ । दीगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्दै रोजगारी सिर्जना, संघीयताको सबलीकरण तथा सुशासन प्रवर्द्धन गर्ने गरी आगामी बजेट आउन लागेको मन्त्री मास्कीले बताए ।
उनले स्रोतसाधनको परिचालनमा मितव्ययिता एवं प्रभावकारिता कायम गर्नेतर्फ बजेट लक्षित हुने बताए ।
उनले विकासको दृष्टिले पछि परेका क्षेत्रलाई प्राथमिकता राख्ने योजना रहेको बताए । शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, खानेपानी, ऊर्जा, भवन तथा शहरी विकास लगायतका क्षेत्रमा ठूला आयोजनालाई प्राथमिकतामा राखी गौरवका आयोजनाका रूपमा विकास गर्ने बताए ।