
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु भएको छ ।
२०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगितामा सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा नेपालका नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले सानदार शुरुवात गर्दै ५ स्ट्रोकको अग्रता बनाएका छन् ।
उनले पहिलो दिन ९–अन्डर ६३ को उत्कृष्ट स्कोर दर्ज गरे । यो स्कोरमा सुवासले प्रोफेसनल गल्फर तोरण विक्रम शाहीलाई ५ स्ट्रोकले पछि पारेका हुन् ।
गोकर्ण गल्फ क्लबमा भएको प्रतियोगितामा तोरणले पहिलो दिनको खेल ४–अन्डर ६८ मा पूरा गरे । जयराम श्रेष्ठ र शिवराम पौडेलले ३–अन्डर ६९ को स्कोरमा संयुक्तरुपमा तेस्रो स्थान बाँडे ।
यसैगरी एमेच्योर खेलाडी सदभाव आचार्य २–अन्डर ७० सहित पाँचौ स्थानमा छन् । १–अन्डर ७१ को स्कोरमा डिफेन्डिङ च्याम्पियन शुक्रबहादुर राईसहित कृष्णमान राजबाहक र दिनेश प्रजापति संयुक्तरुपमा छैटौं स्थानमा छन् । यसैगरी सूर्यप्रसाद शर्मा, भुवन नगरकोटी, दलबहादुर लामा, रवि खड्का र राजेन्द्र थापा मगर संयुक्तरुपमा नवौं स्थानमा छन् । उनीहरूले पहिलो दिनको खेल इभन–पार ७२ मा सकाए ।
दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्ण विजेता सुवासले प्रो गल्फरहरूलाई पहिलो दिनदेखि नै दबाब दिने क्रममा उत्कृष्ट शुरुवात गरे । पहिलो, दोस्रो र तेस्रो होलमा लगातार तीन बर्डी प्रहार गरे । आठौं होलमा एक सट खेर फाले पनि पाँचौं र नवौं होलको बर्डीले फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाए । ब्याक नाइनमा पनि सुवासले उत्कृष्ट लयलाई निरन्तरता दिए ।
१०औं होलमा एक सट बचाउँदा ५–पारको ११ औं होलमा इगलको सफलता प्राप्त गरे । यसपछि १२औं र १४औं होलमा एक–एक सट बचाउँदै उनले ब्याक नाइन ५–अन्डर ३१ मा सकाए ।
तोरणले फ्रन्ट र ब्याक नाइन दुवै २–अन्डर ३४ मा पूरा गरे । दिनको शुरूवात बोगीबाट गरे । पहिलो होलमा बोगी खेपे पनि तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे । यसपछि १२औं र १६औं होलमा एक–एक सट बचाए ।
जयरामले फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए । पहिलो, पाँचौं र सातौं होलमा बर्डी प्रहार गर्दा चौथो होलमा बोगी खेपे । ब्याक नाइन १–अन्डर ३५ मा पूरा गरे । ११औं र १३औं होलमा एक–एक सट बचाउँदा १५औं होलमा बोगी खेपे ।
शिवरामले फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाउने क्रममा पहिलो, दोस्रो र पाँचौ होलमा बर्डी प्रहार गरे । ब्याक नाइन इभन–पार ३६ मा पूरा गरे । उनले ११औं होलमा बर्डी र १७औं होलमा बोगी प्रहार गरे ।
प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित तथा सूर्य नेपाल प्रालिद्वारा प्रयोजित प्रतियोगितामा ४१ प्रोफेसनल र नौ एमेच्योर गरी कुल ५० खेलाडीले ७२ होलको प्रतियोगिता खेल्नेछन् । ३६ होलको समाप्तीमा शीर्ष २१ प्रो र कम्तिमा ६ एमेच्योर खेलाडीले कट बनाउनेछन् ।
कुल १५ लाख २० हजार नगद पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले २ लाख ७० हजार प्राप्त गर्नेछ । यसैगरी दोस्रो, तेस्रो र चौथो हुने खेलाडीले क्रमशः १ लाख ७० हजार, १ लाख २० हजार र १ लाख प्राप्त गर्नेछन् । शीर्ष २१ मा पर्ने प्रोफेसनल खेलाडीले नगद हात पार्नेछन् ।
सूर्य नेपाल गल्फ टुर अन्तर्गत ८ मध्ये ७ वटा प्रतियोगिताको सकिँदा ५ लाख १३ हजार ५ सय रुपैयाँका साथ भुवन नगरकोटी यो सिजन सर्वाधिक कमाउने खेलाडी सूचीको शीर्षस्थानमा छन् । उनी भन्दा १९ हजार ५ सय रुपैयाँ कम ४ लाख ९४ हजार रुपैयाँका साथ दोस्रो नम्बरमा शुक्रबहादुर राई रहेका छन् । यो प्रतियोगिताले अर्को सिजनको नम्बर १ खेलाडीको छिनोफानो समेत गर्नेछ ।