
दोस्रो एकदिवसीय अभ्यास खेलमा नेपालले नेदरल्याण्ड्सलाई १५७ रनको झिनो लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाल ३६.५ ओभरमा १५६ रनमा अलआउट भएको हो ।
नेपालको लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३० रन बनाए । गुल्सन झाले २४ प्रतिश जिसीले १९, आरिफ शेख र सोमपाल कामीले समान १८/१८ रन बनाए ।
नेपालका लागि ओपनर आसिफ शेख ४ रनमा आउट भएका थिए । तेस्रो नम्बरमा आएका अर्जुन साउदले पनि ४ रन मात्र बनाए ।
अर्का ओपनर कुशल भुर्तेल ९ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए ।
नेदरल्यान्ड्सका लागि एल भि भान बीकले ५ तथा शरिज अहमदले १ विकेट लिए ।
पहिलो खेलमा पनि नेपाल १३६ रनमा आउट हुँदा स्कटल्याण्डसँग ७ विकेटले पराजित हुन पुगेको थियो ।
यो अभ्यास खेलपछि नेपाल विश्वकप छनोट खेल्न जिम्बावे जानेछ । छनोटअन्तर्गत नेपालले पहिलो खेल ३ असारमा घरेलु टोली जिम्बावेसँग खेल्नेछ ।
५ असारमा अमेरिका, ७ असारमा वेस्टइण्डिज र ९ असारमा नेपालको खेल नेदरल्याण्ड्सविरुद्ध हुनेछ ।