
नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई ७ दिने स्पष्टीकरण सोधेको छ ।
प्राधिकरणले आफ्नो स्वामित्वमा रहेको जग्गामा लगाइएको तारबार महानगरका प्रहरीसहितको टोलीले काटेको भन्दै महानगरका मेयर शाह, नगर प्रहरी प्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नं.९ का अध्यक्ष रामजी भण्डारीलाई स्पष्टीकरण सोधेको हो ।
प्राधिकरणले शुक्रवार सोधेको स्पष्टीकरणमा ‘तपाईंलाई किन कारवाही नगर्ने’ भन्ने व्यवहोराको पत्र तीन जनाको नाममा छुट्टाछुट्टै पठाएको छ । तोकिएको समयभित्र स्पष्टीकरण नदिए कानून बमोजिम कारवाही हुने चेतावनीसहितको पत्र प्राधिकरणले थमाएको छ ।
प्राधिकरणले महानगरका मेयरको आदेशमा भन्दै महानगर प्रहरीले गैरजिम्मेवारी कार्य गरेको दाबी गरेको छ ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आफ्नो स्वामित्वको सिनामंगल गैरीगाँउस्थित जग्गामा लगाइएको तारबार महागनर प्रहरीले बलजफती निकालेको थियो ।

प्राधिकरणको जग्गा उपभोग गर्ने हेतुले महानगरले बलजफती गरेको र सिनामंगलस्थित नयाँ भवनको निर्माण कार्यमा अवरोध पुर्याएको भन्दै प्राधिकरणले स्पष्टीकरण मागेको प्रवक्ता निरौलाले जानकारी दिए । ‘प्राधिकराणले महानगरसँगको समन्वयमा गैरीगाउँको १४ आना जग्गामा तारबार लगाएर आफ्नो जग्गाको सुरक्षा गरेको थियो । महानगरले सो क्षेत्रलाई उपभोग गर्ने र पार्क बनाउने भन्दै प्राधिकरणको अनुमतिविना जबरजस्ती गरिएको छ’ निरौलाले भने ।
महागनर प्रमुख र जिम्मेवार निकायबाट गैरजिम्मेवारपूर्ण काम भएको र प्राधिकरणको ऐन अनुसार कारवाहीको लागि पत्र पठाएको पनि निरौलाले बताए ।
प्राधिरणको सिनामंगलमा नयाँ भवन बनिरहेको छ । सो भवनको भने नक्सा पासको प्रक्रिया अगाडि बढिरहेको विषयमा महानगरले जबरजस्ती गर्न खोजेको पनि प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले महानगपालिकालाई कर छुटसहित तत्काल आफ्नो भवनको नक्सा पास गर्न पत्राचार गरिसकेको छ । प्राधिकरणले यो भवनको विषयमा गत माघमै स्थानीय सरकार संचालन ऐन अनुसार भूमिकर नलिई नक्सा पास अगाडि बढाउन पनि पत्र लेखेको छ । प्राधिकरणका अनुसार उक्त पत्रको जवाफ प्राप्त नहुँदा भवनको नक्सा पास अगाडि नबढेको पनि शुक्रवार नै महानरलाई लेखेको एक पत्रमा उल्लेख छ ।
प्राधिकरणले शुक्रवार नै उक्त भवनको नक्सा पास प्रक्रिया तत्काल अगाडि बढाउन महानगरलाई पत्र लेखेको हो ।
