२९ असार २०८३, सोमबार

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भिड, मन्त्री श्रेष्ठद्वारा पूजा आरधना

साउन ८, २०८०
काठमाडौं
पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भिड, मन्त्री श्रेष्ठद्वारा पूजा आरधना

सौरमासअनुसार साउनको दोस्रो सोमवार आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भिड लागेको छ ।

भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरेको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए । पशुपति क्षेत्रमा अहिले पनि लाखौं भक्तजन पूजा, आरधना एवं दर्शनका लागि लाममा बसेका छन् ।

सोमवारका अवसरमा आज पशुपतिनाथमा विशेष पूजा आराधनाका लागि १०१ भक्तजनले रसिद काटेको पनि उनले बताए । 

यसैबीच साउने सोमवारका अवसरमा आज बिहान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले पूजा, आरधना एवं दर्शन गरेकी कोषले जनाएको छ । यसैगरी पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीले पनि पशुपतिनाथ मन्दिरमा दर्शन गरेका छन् ।

आजै प्रधानन्यायधीश हरिकृष्ण कार्कीले पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको छ । बेलुकीको आरतीमा मुख्यसचिव डा. वैकुण्ठ अर्याल सहभागी हुने कार्यक्रम रहेको पनि जनाइएको छ ।

पशुपतिनाथमा सुन्दरीजलबाट शुद्ध जल ल्याएर अर्पण गर्ने बोलबम यात्रीको पनि आज भिड लागेको छ । बोलबम यात्री शुद्ध जल लिने आइतवार बेलुकी नै सुन्दरीजल गएर बसेका थिए ।

null

साउन महिना र सोमवार भगवान् शिवको महिना एवं वार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ । यस वर्ष साउन २ गतेदेखि अधिकमास सुरु भएकाले साउन महिनाको सोमवार व्रत बस्नु हुने वा नहुने भन्नेमा धर्मशास्त्रीबीच मतान्तर छ । जसका कारण गत हप्ताअर्थात् साउन १ गते सोमबारभन्दा भक्तजनको सङ्ख्या केही घटेजस्तो देखिन्छ ।

पशुपति क्षेत्रमा समग्रमा दर्शनार्थीको सङ्ख्या नघट पनि सोमवारको व्रत बस्ने महिलाको सङ्ख्या भने कम देखिएको महाशाखा प्रमुख पराजुलीले बताए । यस वर्ष साउन महिनामा पाँच वटा सोमवार परेका छन् । साउनको १, ८, १५, २२ र २९ गते सोमवार परेको छ । साउन १ गतेबाहेकका सबै सोमवार भने अधिकमासभित्र परेका छन् ।

प्रत्येक वर्ष साउन महिना र सोमवार भगवान् शिवजीको विशेष पूजा, आराधना गर्ने महिना एवं वार भएकाले व्रत गर्न हुने भन्ने मान्यताका आधारमा अन्य शिवालयमा पनि भक्तजनको भने भिड देखिन्छ । राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत महादेव मन्दिरमा पनि भक्तजनको भिड लागेको छ ।

यसैगरी देशभरका अन्य शिवालयमा पनि बिहानैदेखि भक्तजनको भिड लागेको छ । साउनको सोमवारको व्रत गर्ने भक्तजनले पाँच वटै सोमवारको व्रत पूरा गरी उद्यापनका लागि अन्तिम सोमवार गोदान र पूर्णपात्र गर्ने विधि रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्