
सुनसरीको धरानको सडक खण्डमा विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको गोली हानी हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट पेस्तोलसमेत बरामद गरेको छ ।
प्रहरीले हत्या आरोपीलाई घटना भएको १२ दिनपछि पक्राउ गरी सार्वजनिक गर्ने तयारी गरेको छ । आज दिउँसो तीन बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पत्रकार सम्मेलन गरी आरोपीलाई सार्वजनिक गरिने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी राजेशनाथ बास्तोलाले जानकारी दिए ।
प्रहरीले हत्या कारण र आरोपीको नाम अहिले गोप्य राखेको छ । ‘पत्रकार सम्मेलनमा घटनाको बारेमा जानकारी दिनेछौं,’ डीआईजी बास्तोलाले भने, ‘अहिले मैले यति भने ।’ यस घटनाको अनुसन्धान प्रदेश प्रहरी कार्यालय रिट र सुनसरी प्रहरीले संयुक्त रूपमा अनुसन्धान गर्दै आएको छ ।
साउन ५ गते चौधरीमाथि धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको थियो । साथीसँग मूल घाटबाट विराटनगर आउने क्रममा जंगलमा उनको दाहिने कोखामा गोली लागेको थियो । उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।