२९ असार २०८३, सोमबार
भनसुनमा रोजगारी

‘स्टन्ट’लाई पनि माथ दिने ‘फन्डा’– रवि लामिछाने ‘एजेन्ट’ हुन् कि नेता ?

साउन १७, २०८०
काठमाडौं
‘स्टन्ट’लाई पनि माथ दिने ‘फन्डा’– रवि लामिछाने ‘एजेन्ट’ हुन् कि नेता ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू दोस्रोपटक सांसद निर्वाचित भएको १०० दिन पूरा भएको अवसरमा १०० जनालाई रोजगारी व्यवस्था गर्न लागेको भन्दै मंगलवार सामाजिक सञ्जालमार्फत विज्ञापन आह्वान गरेका छन् ।

‘यी विज्ञापनहरू विभिन्न देशका पत्रिका, अनलाइन र चोकका पसलहरूमा छापिएका छन्, छापिँदैछन् । चुनावमा आफूले बोलेअनुसार ‘फ्री टिकट’मा नेपाल फर्किन चाहनेका लागि १०० भन्दा बढी जागिरको व्यवस्था गरेका छौं, त्यो पनि ‘विना ढेउवा के’ । अहिलेका लागि यी  रोजगारी खोजिएको हो, छिट्टै रोजगारी सिर्जना गर्ने वातावरण बनाउने छौं । मैले उपनिर्वाचनमा विजय हासिल गरेको भोलि (बुधवार) १०० दिन पूरा हुँदैछ । बोलेका थुप्रै काम ‘स्टन्ट’बारे भोलि दिनभरि विभिन्न कार्यक्रम मार्फत जानकारी दिँदैछु । भोलि दिनभरि मलाई फेसबूकमा  फलो गरिदिनुहोला,’ मंगलवार साँझ रविले फेसबूकमा लेखेका छन् ।

‘स्टन्ट’ गरेको भन्दै आलोचना गर्नेहरूलाई ‘स्टाटस’मै व्यंग्य गरेका रविले ‘अर्को लेभलको स्टन्ट’ गरेको भन्दै सामाजिक सञ्जालदेखि बौद्धिक जमातसम्मबाट आलोचना हुन थालेको छ ।

रविले विज्ञापन खुलाएका पदहरू हेर्दा कुनै नयाँ रोजगारीको अवसर सिर्जना गरेको देखिँदैन, भनसुन गरेर यहाँ रहेकै रोजगारदाताबाट रोजगारीको अवसर खोजेको देखिन्छ, जुन कुरा स्वयं उनले स्वीकारेका पनि छन् । यसरी भनसुन गरेर आफ्ना मान्छेलाई जागिर लगाउने प्रचलन नेपालमा पुरानै हो । हरेकजसो नेताले घोषणा नगरिकनै यी काम गरिरहेका छन् । 

यसरी भनसुनमा कार्यकर्ता भर्ती गरेको भनेर पुराना नेताहरूको आलोचना समेत हुने गरेको छ । पुराना नेताहरूले गलत गरे, जनअपेक्षा अनुसार काम गर्न सकेनन् भन्दै आलोचना गरेर स्थापित नयाँ दलका सभापतिले घोषितरूपमै पुराना नेताहरूलाई समेत माथ दिने गरी ‘फन्डा’ गर्नु आलोचनाको विषय बनेको छ ।

रविले खुलाएको विज्ञापन

सामाजिक सञ्जालमा राखिने रविका हरेकजसो पोस्टमा सकारात्मक प्रतिक्रिया धेरै आउने गरेकोमा यस पोस्टका नकारात्मक प्रतिक्रिया पनि छ्याप्छ्याप्ती देखिन्छन् । सामाजिक सञ्जालकै बलमा स्थापित भएकाले उनका स्टाटसमा सकारात्मक प्रतिक्रिया आउनु त स्वाभाविकै हो, बरु आलोचना गरिएका प्रतिक्रिया हेर्दा गम्भीर प्रश्नहरू उठाएको देखिन्छन् ।

रविको स्टाटसमा प्रतिक्रिया दिँदै रेवतराज भण्डारीले लेखेका छन्–

‘थैट नाटक पनि ! सस्तो लोकप्रियताको पछि कुदेरै यी दाइले पार्टी सक्ने भए । ए सम्झाओन हौ कसैले । दैनिक हजारौं हजार नेपाली एयरपोर्टमा लाइन लागेर बिदेसिएको देख्दैन रहेछन् यिनले ? त्यसलाई रोक्ने प्रयत्न गर न सक्छौ भने ।’

दिलु धामीले लेखेका छन्–

‘हाहाहा ! हैन ए केटा, १०० जना बाहिरबाटै छनोट गरेर ल्याउँछौ कि विदेशबाट घर आएर तिम्रोमा आउनुपर्ने हो ? तिम्रो १०० को कोटामा १००० जना आएमा बाँकी ९०० को हातमा के *** थमाएर पठाउँछौ ? यस्तो केटाकेटीपना देखाउनुभन्दा रोजगारीका लागि दीर्घकालीन उपाय खोज न । तिम्रो १०० जनाको कोटामा काम गर्न त्यो पनि विदेशबाट आउनु पर्ने ? देशमै एउटा गाउँमा हजारजना बेरोजगार छन्, अनि तिम्रो रोजाइमा देशभित्रका पनि पर्छन् कि विदेश गएका मात्रै ?’

रविलाई प्रतिक्रिया दिँदै प्रतीक पौडेलले लेखेका छन्–

नेपालमा भएका रोजगारीमा पनि राम्रो तलब नपाएर विदेशिनेको संख्या बढिरहँदा त्यसलाई रोकथाम गर्ने होला नि पहिला त ? विदेश बसेर सेटल छु भन्नेहरू पैँतीस हजारको जागिर खानलाई नेपाल फर्किन्छन् होला र ? आशा छ, धेरै फर्किने छैनन् ।

रविको विरोधाभाष– ‘एजेन्ट’ हुन् कि नेता ?

रोजगारदाता र रोजगारी खोज्नेहरूलाई जोड्ने माध्यमका रूपमा काम गर्नेगरी नेपालमा दर्जनौं ‘रिक्रुमेन्ट’ कम्पनी सञ्चालनमा छन् । 

उनीहरूको काम नै यसैगरी रोजगारदाताबाट ‘भ्याकेन्सी कलेक्ट’ गर्ने, विज्ञापन गर्ने अनि प्राप्त आवेदन रोजगारदातासमक्ष पुर्‍याइदिने हो । आवेदनलाई ‘शर्ट लिस्ट’ गर्ने, लिखित परीक्षा र (वा) अन्तर्वार्ता लिने काम रोजगारदाताकै हुन्छ ।

नेपाल उद्योग वाणिज्य महासंघको क्षमता विकास तथा रोजगार समितिका अध्यक्ष गोपाल खनाल रवि लामिछानेले पठाएकै मान्छे वा बाहिरबाट ल्याएकै मान्छे आफूहरूका लागि योग्य हुन्छन् भन्ने आधार नभएको बताउँछन् ।

यसरी आवेदन दिनेमध्ये सबैले जागिर पाउँछन् भन्ने पक्का हुँदैनन्, योग्य व्यक्ति मात्र छानिन्छन् । कम्पनीले योग्य व्यक्ति छनोट गरिसकेपछि आफ्नो माध्यमबाट गएर छनोट हुनेलाई बधाई दिने र रोजगारदाताबाट त्यसबापत थोरबहुत शुल्क लिने काम गरेपछि एउटा प्रक्रिया पूरा हुन्छ ।

यहाँ रविले अन्य ‘रिक्रुमेन्ट’ कम्पनीले जस्तै आवेदन जम्मा गरेर रोजगार दातासम्म पुर्‍याइदिने हुन् कि पुराना नेताहरूले जस्तै भनसुन गरेर वा दबाब/प्रभावमा पारेर आफूले भनेको व्यक्तिलाई जागिर नै खुवाउने हुन्, त्यो विषय खुलेको छैन ।

जागिर पक्का हुने गरी आवेदन खुलाएका हुन् भने अन्य नेताले गरेको कार्यकर्ता भर्ती र उनको यो काममा के फरक भयो ? आवेदन जम्मा गरेर रोजगारदातालाई दिने मात्र हुन् भने उनलाई ‘एजेन्ट’ भन्ने कि नभन्ने ? गम्भीर प्रश्न उब्जिएको छ ।

यहाँ अर्को विरोधाभाष पनि छ, गत आर्थिक वर्ष २०७९/०८० मा ७ लाख ७१ हजार ३२७ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । यसलाई ३६५ ले भाग गर्ने हो भने एकदिनमै सरदर २ हजार ११४ जना वैधानिक च्यानलबाट विदेशिएको देखिन्छ । 

मानव तस्करको फन्दामा परेर वा भिजिट भिसाको माध्यमबाट विदेशिनेको संख्या त कति हो कति । दिनदिनै विमानस्थलमा विदेशिने युवाको लाइन लाग्ने गरेको छ । रविले खुलाएको ‘भ्याकेन्सी’ विदेशबाट फर्किन चाहनेहरूका लागि भनिएको छ । त्यसो हो भने पहिला विदेश त जसरी पनि जानैपर्‍यो, अनि मात्र आवेदनका लागि योग्य भइने भयो ।

विदेशबाट फर्किनेका लागि भनेर यसरी २५/३० हजारको जागिरमा भ्याकेन्सी खुलाउँदैमा यो समस्या समाधान नहुने उनको पार्टी (रास्वपा)कै नेताहरू स्वीकार्छन् ।

‘यतिले मात्र समाधान दिँदैन भन्नेमा हामी पनि छौं । तर, विदेशबाट फर्किने मात्र भन्नुभन्दा श्रम स्वीकृतिका लागि लाइनमा पुगेकाहरूमध्येबाट १०० जनालाई रोजगारीको व्यवस्था गर्न सक्यौं भन्न पाएको भए उचित हुन्थ्यो कि भन्ने हाम्रो पनि धारणा हो,’ उनकै पार्टीका एक नेताले नाम उल्लेख नगर्ने शर्तमा भने । 

रोजगारी सिर्जनाको पहल गर्ने कि ‘फन्डा’ मात्र ?

रवि स्वयं सांसद निर्वाचित भएको जिल्ला चितवनका किसान कहिले कुखुरा, कहिले अण्डा त कहिले तरकारीले उचित बजार नपाएको भनेर आन्दोलित हुने गरेका छन् । कहिले बाटोमा तरकारी फालेका त कहिले दूध पोखेका तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

भारतबाट भित्रिने तरकारी तथा कुखुराजन्य पदार्थका कारण बजार नपाएको भनेर किसानले गुनासो गर्दै आएको वर्षौं पहिलेदेखि हो ।

तिनै किसानहरूलाई सहजरूपमा बजार व्यवस्थापन हुने गरी कुनै उद्योग कलकारखाना खोलेको वा त्यसका लागि पहल मात्र गरेको भए उचित हुन्थ्यो भन्ने विश्लेषकहरूको मत छ ।​

अर्थराजनीतिक विश्लेषक समेत रहेका नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेल राजनीतिक पार्टीले गर्ने कामभन्दा बाहिर गएर ‘स्टन्ट’ गरिएको बताउँछन् ।

कुनै उद्योग धन्दा भएको व्यक्तिले रोगजारी दिन्छु भन्नु स्वाभाविक नै भए पनि राजनीतिक पार्टीले यसरी प्रचारबाजी गरेर सामान्य खालको रोजगारी दिन्छु भन्नु ‘स्टन्ट’ शिवाय अरू केही नभएको उनको तर्क छ ।

पौडेलले रोजगारी खोजिदिने नै हो भने ‘रिक्रुमेन्ट’ कम्पनी खोल्न सुझाव दिए । ‘रवि लामिछानेले रोजगारी नै खोजिदिने हो भने राजनीति छाडेर कुनै जब रिक्रुमेन्ट कम्पनी खोले हुन्छ,’ पौडेलले भने ।

उद्योगी भन्छन्, ‘कसैले छनोट गरेर दिँदैमा लिने कुरा हुन्न’

नेपाल उद्योग वाणिज्य महासंघको क्षमता विकास तथा रोजगार समितिका अध्यक्ष गोपाल खनाल रवि लामिछानेले पठाएकै मान्छे वा बाहिरबाट ल्याएकै मान्छे आफूहरूका लागि योग्य हुन्छन् भन्ने आधार नभएको बताउँछन् ।

‘उहाँहरूले खोजेको मान्छे हामीलाई योग्य हुन्छ भन्ने आधार के छ ? हामीलाई चाहिने जनशक्ति र त्यो अनुसार तोकिएको सेवासुविधा कसरी दिने भन्ने पनि त स्पष्ट हुनुपर्ला नि ?’ खनालले लोकान्तरसँग भने ।

जिम्मेवार राजनीतिक पार्टीले नीति/नियम र दीर्घकालीन भिजन बनाएर काम गर्नुपर्ने ठाउँमा कुनै उद्योगी व्यवसायीलाई दबाब दिएर रोजगारी दिन लगाउनु गलत भएको उनको प्रतिक्रिया छ ।

‘काम गर्न गएका र गरिरहेका युवालाई किन बिगार्ने ? उनीहरू आफ्नो समय अनुकूल मिलाएर आफैं फर्किएर आउँछन् । त्यसपछि आएकालाई दिने योजना बनाउनुपर्‍यो, यहीँ भएकै युवालाई बाहिर जानबाट रोक्न सक्नुपर्‍यो,’ खनालले थपे ।

बाहिर गरेको काम र यहाँको कामको प्रकृति समेत फरक हुने भन्दै उनले विदेशबाट आउने सबै रोजगारीका लागि योग्य हुन्छन् भन्ने ग्यारेन्टी नभएको बताए । 

यता जब ‘रिक्रुमेन्ट’ कम्पनी ‘मेरो जब’का प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरी राष्ट्रिय स्वतन्त्र पार्टीले उद्देश्यविपरीत काम गरेको बताउँछन् । 

‘रवि लामिछानेले कुनचाहिँ नयाँ उद्योग खोलेर रोजगारी दिएका हुन् र ? नयाँ रोजगारी दिन त कुनै उद्योग वा व्यापार/व्यवसाय हुनुपर्ला नि ?’ प्रश्न गर्दै गिरीले लोकान्तरसँग भने ।

नयाँ रोजगारी सिर्जना गर्नुभन्दा भएकै क्षेत्रमा ‘जब म्याचिङ’ गरेर ‘स्टन्ट’ गर्न खोजिनु ‘राजनीतिक फन्डा’बाहेक केही नभएको गिरीको तर्क छ ।

नयाँ रोजगारी सिर्जना गर्नुभन्दा भएकै क्षेत्रमा ‘जब म्याचिङ’ गरेर ‘स्टन्ट’ गर्न खोजिएको भन्दै उनले यो ‘राजनीतिक फन्डा’बाहेक केही नभएको बताए ।

यसमा आफूहरूलाई पनि सहकार्यको प्रस्ताव आएको खुलासा गर्दै उनले राजनीतिक रूपमा जोडिँदैनौं भनेर अस्वीकार गरेको बताए ।

‘हामीसँग लाखौं जब रिक्वेस्ट आउँछ, लाखौंले आवेदन दिइरहेका हुन्छन्, दिनमै हजारौंको अन्तर्वार्ता भइरहेको हुन्छ र सयौंले रोजगारी पाइरहेका हुन्छन्, यस्तोमा किन कुनै पार्टीसँग जोडिएर उसलाई क्रेडिट दिनुपर्‍यो र ?’ गिरीले लोकान्तरसँग भने ।

अन्य कैयन कम्पनीले पनि यसरी काम गरिरहेको भन्दै उनले १०० जनालाई जागिर दिने भनेर प्रचार गर्नु विशुद्ध ‘राजनीतिक स्टन्ट’ मात्र भएको बताए ।

अरू पार्टीभन्दा फरक हुन खोजेका हौं– रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले भने नेपालमा विदेशी सीप भित्र्याउन निजी क्षेत्रकै सहकार्यमा आफ्नो पार्टीले रोजगार अभियान चलाएको बताउँछन् ।

अरू राजनीतिक पार्टीभन्दा फरक हुन र उनीहरूले आफन्त नियुक्ति गर्न दिने दबाबलाई हटाउन पनि स्वतन्त्र पार्टीले स्वतन्त्र प्रतिस्पर्धा गराएर युवालाई रोजगारीमा पठाउन खोजेको उनको तर्क छ ।

‘बाहिरबाट आफ्नो विवरण पठाएर छानिएका युवालाई मात्रै नेपाल बोलाउने काम पार्टीले गर्ने गरी व्यवस्था मिलाइएको छ,’ उनले लोकान्तरसँग भने ।

यसका लागि सचिवालयमा 'फोकल पर्सन' तोकेर उपयुक्त व्यक्ति छनोट गर्ने काम पनि भइरहेको उनले बताए । नेपालका रोजगारदाता कम्पनी, उद्योगी व्यवसायीसँगको सहकार्यमा नै राष्ट्रिय स्वतन्त्र पार्टीले रोजगारी अभियान चलाएको पनि उनको दाबी छ । 

salt training

कमेन्ट गर्नुहोस्