२१ जेठ २०८३, बिहीबार

भारतमा बन्धक बनाइएका सात नेपाली बालबालिकाको उद्धार

साउन २८, २०८०
काठमाडौं
भारतमा बन्धक बनाइएका सात नेपाली बालबालिकाको उद्धार
फाइल फोटो

नेपालका विभिन्न जिल्लाबाट हराएका सात बालबालिकाको भारतबाट उद्धार गरिएको छ ।

विगत छ वर्षदेखि मानव बेचबिखनविरूद्ध कार्यरत सामाजिक संस्था केआइएन इन्डियाले भारतका विभिन्न स्थानबाट उद्धार गरिएका चार बालक र तीन बालिकालाई सुनौली नाका हुँदै शनिवार स्वदेश फिर्ता गराएको हो । 

दार्चुलाकी १५ वर्षीया, पाल्पा र पर्साका १६ वर्षीया बालिका तथा रौतहटका १३ वर्षीय दुई बालक, महोत्तरी र अर्घाखाँचीका १६ वर्षीया बालकको उद्धार गरिएको हो ।

ती बालबालिका विभिन्न बहाना तथा प्रलोभनमा भारत पुर्‍याइएको थियो । १ देखि ६ महिनाको अवधिमा हराएका बालबालिकालाई भारतीय प्रहरीको सहयोगमा विभिन्न स्थानबाट उद्धार गरिएको हो ।

बालबालिकाको उद्धार र स्वदेशफीर्तिमा प्रत्यक्ष संलग्न संस्था केआईएनका निर्देशक नवीन जोशीका अनुसार ती बालबालिकामध्ये तीन जना बालकको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव मीना पौडेल र जिल्ला प्रहरी कार्यालय रूपन्देहीको रोहबरमा पारिवारिक पुनःमिलन गराइएको छ । एक बालकलाई बालबालिका खोजतलास केन्द्रमा राखिएको छ ।

तीन बालिकालाई रुपन्देहीको एक आवास गृहमा राखिएको छ । बालबालिका भारतसम्म के कसरी पुगे भन्नेबारे थप अनुसन्धान प्रक्रियाका लागि बालिकालाई आवास गृहमा राखिएको हो । 

उद्धार गरिएकामध्ये दार्चुलाकी बालिका घरबाट भागेर हिँडेको र दिल्लीको मेट्रो स्टेशनमा फेला पािरएको केआईएनका निर्देशक जोशीले जानकारी दिए ।

उनकाअनुसार पाल्पाकी बालिकालाई लागुऔषध प्रयोगकर्ताले सीमा नाकामा भएको चेकजाँचमा बुहारी भनेर झुक्याएर भारत पुर्‍याएका थिए । ती बालिकालाई रेलवे स्टेशनबाट उद्धार गरिएको हो । पर्साकी बालिका दिल्लीमा खोजतलास गर्ने क्रममा खाली कोठामा बन्धक बनाएर राखिएको अवस्थामा फेला पारिएको थियो । 

चारैजना बालकलाई दिल्लीबाट उद्धार गरिएको केआइएनले जनाएको छ । “प्रहरी तथा भारतस्थित नेपाली दूतावासले केआईएन इन्डियालाई केश फरवार्ड गर्नुहुन्छ । त्यही आधारमा काम गछौं”, निर्देशक जोशीले भने, “भेटिनेभन्दा नभेटिने बालबालिकाको सङ्ख्या धेरै छ ।” सन् २०१८ देखि अहिलेसम्म केआईएनले पाँच सय बढी महिला तथा बालबालिका उद्धार गरेको जनाएको छ।

“भारत धेरै जनसङ्ख्या भएकाले कुन क्षेत्रमा छ भनेर पत्ता लगाउन निकै समस्या हुन्छ । भारतीय प्रहरीको सहयोगमा उद्धारको काम गरिरहेका छौं”, उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्