
एसिया कपको उद्घाटन खेलअन्तर्गत पाकिस्तानविरुद्ध उत्रने नेपालको प्लेइङ ११ सार्वजनिक भएको छ ।
नेपालको कप्तानी रोहित पौडेलले गर्नेछन् ।
कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित नारायण राजवंशी र सन्दीप लामिछाने प्लेइङ ११ मा छन् ।

एसिया कपको उद्घाटन खेलमा नेपालले आज बलियो पाकिस्तानको सामना गर्दैछ ।
खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे पाकिस्तानको पञ्जाबस्थित मुल्तान क्रिकेट मैदानमा हुनेछ ।
नेपालले पहिलोपटक एसिया कप खेल्नलाग्दा आइसिसी वरीयतामा १ नम्बरमा रहेको घरेलु टोली पाकिस्तानको सामना गर्न लागेको हो ।
यसैबीच, पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका छन् ।
टसपछि नेपालका कप्तान रोहित पौडेलले खेलका लागि सबै उत्साहित रहेको बताए ।
‘हामी सबै खुशी छौं । एसिया कपको यो हाम्रो पहिलो खेल हो । नेपालका सबैजना यो खेलका लागि उत्साहित छौं । पाकिस्तानको धेरैजसो चिज नेपालजस्तै छ । ब्याटिङका लागि विकेट धेरै राम्रो छ,’ उनले भने ।