३० असार २०८३, मंगलबार
सहमतिको प्रयास विफल

एमाले लुम्बिनी अधिवेशनः चुनाव हुने करीब निश्चित, कंडेल र रिजालबीच प्रतिस्पर्धा

भदौ १८, २०८०
काठमाडौं
एमाले लुम्बिनी अधिवेशनः चुनाव हुने करीब निश्चित, कंडेल र रिजालबीच प्रतिस्पर्धा
तस्वीरमा (बायाँबाट) कंडेल र रिजाल

नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि निर्वाचन हुने पक्कापक्कीजस्तै भएको छ । सर्वसम्मतिको प्रयास विफल भएपछि अन्ततः चुनावी प्रक्रियामार्फत नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढेको हो ।

भदौ १६ गतेदेखि शुरू भएको प्रथम अधिवेशनबाट नेतृत्वका लागि पाल्पाका राधाकृष्ण कंडेल (आर.के.) र प्यूठानका हरि रिजालले मनोनयन दर्ता गराइसकेका छन् । 

उपमहासचिव प्रदीप ज्ञवाली, सचिव पद्मा अर्याल तथा अध्यक्ष पदका उम्मेदवार कंडेल र रिजालबीच सहमति जुटाउन प्रयासमा भए पनि त्यो सफल हुन सकेन । दुवै जनासँग उनीहरूले विभिन्न चरणमा छलफल गरे पनि सर्वसम्मत बनाउने प्रयास विफल भएको हो । 

यो निर्वाचनलाई उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको शक्ति परीक्षणका रूपमा पनि हेरिएको छ । कंडेल उपाध्यक्ष पौडलनिकट मानिन्छन् भने रिजाल महासचिव पोखरेल निकट छन् ।

दुई पक्षको अघोषित प्यानलबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । लुम्बिनी दुवै नेताको गृहप्रदेश हो । एमाले पोलिटब्यूरो सदस्य तथा युवा नेता सूर्य थापाले पदाधिकारीमा निर्वाचन हुने पक्का भएको लोकान्तरलाई जानकारी दिए । 

‘सहमतिको सम्भावना करिब टर्‍यो, अब निर्वाचनबाट नेतृत्व चयन हुनेछ । त्यसका तयारी अघि बढिसक्यो,’ अधिवेशनले ५ जना पदाधिकारीसहित २०५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । 

प्रदेशको पहिलो अधिवेशन भएकाले लुम्बिनीबाट जाने सन्देशले ठूलो महत्त्व राख्ने भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिए पनि नेताहरूले निर्देशन पालना गरेनन् । एमालेका अन्य संगठनहरूमा भने अध्यक्ष ओलीको निर्देशनमा कमिटी गठन हुने गरेको थियो । 

अधिवेशनमा १२ जिल्लाबाट छनोट भएर आएका १००४ जना प्रतिनिधिले मतदान गर्न पाउनेछन् । एमाले निर्वाचन आयोगका सदस्य भरत पोखरेलले अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको र अन्य पदहरूमा नामावली सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिए ।

पोखरेलले सोमवार नै निर्वाचन गर्ने गरी तयारीमा निर्वाचन समिति जुटेको बताए । दुई दिनमा सम्पन्न गर्ने भनिएको अधिवेशन ३ दिन भइसकेको छ । एकजना उपाध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ, जसमा २ जना रूपन्देहीका छन् ।

त्यस्तै, सचिवमा दुई र उपसचिवमा पाँचजनाको उम्मेदवारी दर्ता भएको छ । उपसचिवमा बाँकेका ३ जनाको उम्मेदवारी छ । अधिवेशनले एकजना अध्यक्ष, एकजना उपाध्यक्ष, एकजना सचिव र दुईजना उपसचिव चयन गर्नेछ ।

अधिवेशन बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) मा भइरहेको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्