दुई दिने पृतना समन्वयात्मक बैठक सैनिक मुख्यालय जङ्गी अड्डामा शुरू भएको छ ।
बिहीवारबाट शुरू भएको बैठकलाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुरक्षाको अवस्था र चुनौतीलाई सम्बोधन गर्नका लागि उपाय पहिल्याउन यस्ता कार्यक्रमले मद्दत पुग्ने बताए ।
राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील एवं गहन विषयमा नेपाली सेनाको रणनीतिक तहमा सञ्चालन हुने अन्तरक्रियाले समग्र राष्ट्रको सुरक्षा अवस्था र वर्तमान चुनौतीको पहिचान हुने उनको विश्वास छ ।
सेनाले विपद् प्रतिकार्य, महामारी, प्रकृति तथा पर्यावरण संरक्षण, विकास निर्माणका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याइरहेको योगदानबाट प्राप्त उपलब्धि र ख्यातिको समेत उनले प्रशंसा गरे ।
रक्षामन्त्री खड्काले देशका रणनीतिक तथा संवेदनशील क्षेत्रको सुरक्षा एवं वर्तमान समयमा राष्ट्रिय चुनौतीको रूपमा रहेको ‘साइबर स्पेश’ सुरक्षार्थ भएका पहल तथा सुझावका लागि धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना सदैव सरकार र नेपाली जनताप्रति उत्तरदायी रहँदै आफ्नो जिम्मेवारी वहन गरिरहेको बताए । उनले भने, “जलवायु परिवर्तन लगायतका सुरक्षा चुनौती सम्बोधन गर्न सक्ने गरी सेना सदैव तयारी अवस्थामा छ ।”
समग्र देशको परिस्थिति र परिवेशको विश्लेषण गर्दै अन्तर सुरक्षा निकायबीच सूचना आदानप्रदान गर्नुपर्ने उनले बताए ।