
सङ्घीय, मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले निजामती कर्मचारीलाई नतिजामुखी काममा लाग्न निर्देशन दिएकी छिन् ।
२० औं निजामती सेवा दिवसको अवसरमा शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासनसहित व्यावसायिक र सिर्जनशीलतातर्फ निजामती कर्मचारी लाग्नुपर्नेमा जोड दिइन् ।
निजामती प्रशासनले राजनीति सङ्क्रमणकालको व्यवस्थापनलगायत क्षेत्रमा सफल भएर प्रमाणित गरिसकेको अवस्थालाई बिर्सन नहुने मन्त्री देवीले बताइन् ।
सङ्घीय प्रशासन प्रणाली थप मजबुत बनाउन सङ्घीय निजामती सेवा ऐनको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले विभिन्न प्राविधिक कारणले ऐन आउन ढिलो भइरहेको बताइन् ।
सङ्घीय निजामती सेवा विधेयक मन्त्रालयबाट अघि बढेको बताउँदै उनले संसद्बाट पारित भई छिट्टै कार्यान्वयनमा आउने विश्वास व्यक्त गरिन् ।