चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र आफन्तले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग अस्पतालमा हुने गरेका समस्या राखेका छन् । उनीहरूले मंगलबार अस्पताल निरीक्षण गर्न पुगेका मन्त्री बस्नेतलाई अस्पतालको प्रशासन कार्यालयअगाडि भेटेर समयमा उपचार नपाएको गुनासो गरेका हुन् ।
मोरङबाट उपचारका लागि आएकी दिव्या तिमिल्सिनाले अस्पतालमा पर्याप्त उपकरण नहुँदा उपचारका लागि बाहिर जानुपर्ने बाध्यता रहेको गुनासो गरिन् । उनले भनिन्, 'सरकारी अस्पताल भनेर आउने तर, उपचारका लागि बाहिर जानुपर्ने हो ?'
यस्तै पर्वतबाट श्रीमतीको उपचारका लागि आएका बलराम सुवेदीले अस्पतालका चिकित्सकले बिरामीलाई उपचारका लागि बाहिर पठाउने गरेको गुनासो गरे । 'अस्पतालमा शय्या खाली हुँदा पनि पालोमा राखिने गरेको छ । त्यससँगै समयमा उपचारका लागि निजी अस्पताल पठाउने गरिएको छ,' उनले भने । स्वास्थ्य बिमाबाट पाउने गरेको सेवा–सुविधासमेत अस्पतालबाट नपाएको उनले गुनासो गरे ।
मन्त्री बस्नेत आएको जानकारी पाएर अस्पतालको प्रशासन भवनअगाडि जम्मा भएका बिरामीका आफन्तले बिमाबाट अस्पतालको फार्मेसीमा पाउनुपर्ने औषधिसमेत नपाएको गुनासो गरेका थिए । बाहिरी जिल्लामा बिमाबाट भएको उपचार र पाएको औषधि यहाँ बाहिर किन्नुपरेको उनको गुनासो थियो ।
गुल्मीबाट बिरामी लिएर आएका कृष्णप्रसाद न्यौपानेको पनि गुनासो उस्तै थियो । सरकारले दिएको सेवा–सुविधासमेत अस्पतालबाट पाउन नसकेको भन्दै उनले मन्त्रीका सामु आक्रोश पोखे । बिरामी र बिरामीका आफन्तलाई अस्पतालका कर्मचारीले हेयका दृष्टिले हेर्ने गरेको गुनासो राख्दै उनले भने, 'कर्मचारीले बिरामीका आफन्तलाई बुझ्ने भाषामा बुझाउने हो कि झर्कने फर्कने हो ?'
सर्लाहीबाट उपचारका लागि आएकी एक महिलाले पैसाको अभावमा उपचार गर्न नसक्ने अवस्था आएको पीडा सुनाइन् । अस्पतालमा बिजुलीदेखि खानेपानी, शौचालयसम्म र चमेना गृहसम्मको गुनासो मन्त्री बस्नेतलाई बिरामीका आफन्तले राखेका थिए ।
बिरामी र बिरामीका आफन्तको गुनासो सुनिसकेपछि मन्त्री बस्नेतले अस्पतालमा आएका बिरामी बाहिर पठाउन नपाउने बताए । तथा त्यस्तो गरेमा अस्पताल प्रशासन र चिकित्सकलाई कारबाही गरिने बताए । 'योभन्दा सेवा–सुविधा भएको अस्पताल कुन हुनसक्छ ? यहाँबाट बिरामी बाहिर पठाउने काम बन्द हुनुपर्छ । बिरामी बाहिर पठाए कारबाहीको भागिदार बन्नुपर्ने छ,' उनले भने, 'अस्पताल आएका बिरामी को कहाँ कति सिफारिस भए ? के कारणले भए मलाई मासिक विवरण पठाउनुहोला ।'
सरकारी अस्पतालमा आएका बिरामीलाई उपचारका लागि निजीमा पठाउने छुट कसैलाई नभएको उनको भनाइ थियो । 'कान्ति बाल अस्पतालमा चिकित्सकको लापरवाहीले बालकको मृत्यु भयो । त्यसको सजाय सम्बन्धित चिकित्सकले पाउनेछन् । त्यसैगरी यहाँ पनि कारबाही हुन्छ,' अस्पताल प्रशासनलाई निर्देशन दिँदै मन्त्री बस्नेतले भने– 'सहजै हुने सुधार १५ दिनभित्र गर्नु र अन्यको प्रक्रिया अघि बढाउनु । बिरामीले दुःख पाउनु भएन ।'
तीन महिनाभित्र नतिजा दिने गरी काम गर्न उनले अस्पतालका चिकित्सक कर्मचारीलाई निर्देशनसमेत दिए ।
हुँदा खाने वर्गको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन आफू लागिपरेको उल्लेख गर्दै मन्त्री बस्नेतले अहिले आठ सयभन्दा बढी चिकित्सकको काज सरुवा बदर गरी गाउँ पठाइएको जानकारी दिए । सरकारले तीन हजार पाँच सय २३ शय्या निःशुल्क गरेको र यसलाई अझै प्रभावकारीरूपमा अघि बढाउने उनले बताए । पैसाको अभावमा उपचार गर्न नपाएको गुनासो गरेकी सर्लाहीकी महिलालाई मन्त्री बस्नेतले पाँच हजार नगद सहयोग गर्दै निःशुल्क उपचारका लागि अस्पताल प्रशासनलाई निर्देशनसमेत दिए ।
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा अहिले दैनिक एक हजार एक सय १५ सम्म बिरामी बहिरङ्ग सेवामा आउने गरेको जानकारी दिए । जसमध्ये दुई सय २६ बिरामी नयाँ र अन्य नियमित जाँचका लागि आउने गरेको उनले बताए । अस्पतालमा अहिले चार सय ५० शय्या सञ्चालनमा रहेको बताउँदै उनले यहाँको सेवालाई अझै प्रभावकारी बनाउँदै लैजानेतर्फ प्रशासन लागिपरेको जानकारी दिए ।
अवसरमा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा विजय न्यौपानेले लामो समयदेखि अस्पतालमा कार्यकारी निर्देशक नहुँदा झेल्नुपरेको समस्या र त्यसबाट उत्पन्न विभिन्न बाधा विस्तारै हल हुँदै गएको बताए । अस्पतालमा कार्यकारी निर्देशक नियुक्तिमा भएको ढिलाइले औषधि खरिददेखि अन्य काम रोकिएको भन्दै उनले अब यी काम छिट्टै पूरा हुने बताएयो । चार महिना रिक्त रहेपछि गत सातामात्रै अस्पतालले कार्यकारी निर्देशक पाएको हो ।