०२ साउन २०८३, शनिबार

अध्यागमनका तत्कालीन महानिर्देशक अधिकारीको कागज : 'अनलाइन जुवाको सूचनाका लागि कुराकानी'

भदौ ३१, २०८०
काठमाडौं
अध्यागमनका तत्कालीन महानिर्देशक अधिकारीको कागज : 'अनलाइन जुवाको सूचनाका लागि कुराकानी'
फाइल फोटो

६० किलो सुन तस्करी प्रकरणमा अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीले अनलाइन जुवासम्बन्धी सूचना संकलनका क्रममा दावा छिरिङसँग कुराकानी गरेको भन्दै कागज गरेका छन् ।

आफू सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा कार्यरत रहेका बेला केही सूचना छ भनी आएकाले दावासँग चिनजान भएको पनि उनले उल्लेख गरेको पाइएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)सँग गरेको कागजमा उनले भनेका छन्, 'म र निज दावा छिरिङबीचमा २०२१ जुनदेखि वीच्याटमा सम्पर्क भएको हो । निजले वीच्याटमा पनि केही चिनियाँ नागरिकहरूले अनलाइन जुवा खेलाई राजस्व चुहावट गरेको सम्बन्धी सूचना दिन्छु भनेका थिए, सोही सन्दर्भमा वीच्याटमा कुराकानी भएको थियो ।'

आफू कर प्रशासनमा २०७३ सालदेखि काम गर्दै आएको र राजस्व चुहावटसम्बन्धी आधिकारिक सूचना प्राप्त हुँदा सम्बन्धित निकायमा जानकारी गराउने पेशागत कर्तव्य भएकाले त्यसै सन्दर्भमा कुराकानी भएको उनको जिकिर छ ।

'राजस्व चुहावटको सूचना दिनेलाई चुहावट भनी ठहर भएको रकमको १०% पुरस्कार दिने व्यवस्था भएकाले त्यस्ता सूचना राजस्व अनुसन्धान विभागलाई दिन पनि बिग अमाउन्ट भनी लेखिएको हुन सक्छ । पानी तान्ने मशिनको सन्दर्भमा कर प्रशासनमा मूल्यसम्बन्धी जानकारीका लागि नेपाली मूल्य आवश्यक पर्ने भएकाले फोटो निज दावा छिरिङलाई पठाएको हुनसक्छ । ततपश्चात यस सम्बन्धमा कुनै सम्वाद भएको छैन,' अधिकारीले गरेको  कागजमा उल्लेख छ ।

पानी तान्ने मशिनको फोटो तथा बिग मनी लेखेको च्याट सम्वाद सार्वजनिक भएको थियो ।

'निज दावा छिरिङले बिजनेस, बिग अमाउन्ट क्यास भनेको जुवासम्बन्धी कुराकानीकै सन्दर्भ होला । २०७१ जेठ २८ गते राजस्व अनुसन्धान विभागमा सरुवा भएपछि निजले मलाई कंग्र्याचुलेसन भनी लेखी पठाएको हुनसक्छ,' उनले गरेको कागजमा उल्लेख छ ।

सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

आइतवार दायर गरिएको मुद्दामा २९ जनालाई प्रतिवादी बनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्