
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेकपा एमाले बागमती प्रदेशमा अध्यक्ष केपी ओली पक्षघरको बाहुल्यता देखिएको छ । बागमतीमा ओली पक्ष र इतर पक्षमा विभक्त भएर चुनाव भएकामा गएराति सम्पन्न अन्तिम मतपरिणामअनुसार ओली पक्षको बाहुल्यता देखिएको हो ।
एमाले बागमती प्रदेशको अध्यक्षमा विजयी भएका कैलाश प्रसाद ढुंगेल ओली निकट हुन् । उनले ६९६ मतका साथ विजय हासिल गरेका हुन् । यस्तै निकटतम् प्रतिद्वन्द्वी कृष्ण प्रसाद दहालले ४३९ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
उपाध्यक्षमा पनि ओली पक्षकै दावा दोर्जे लामा विजयी हुँदा सचिवमा नवराज सिलवाल विजयी भए । यसैगरी पदाधिकारीसहित सदस्यहरुमा पनि ओली पक्षकै बाहुल्यता रहेको छ ।
००००
नेकपा एमाले धमाधम प्रदेश अधिवेशनमा जुटेको छ । कोशी प्रदेशको पहिलो अधिवेशन शुक्रबारदेखि विराटनगरमा जारी छ । जअनुसार शनिबार राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदनमाथि समूहगत छलफल गरेर पारित गर्ने तयारी रहेको छ । त्यसपछि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।
००००
यसैगरी नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ । शुक्रवार साँझ प्रेमबहादुर सिंहले आफूलाई उम्मेदवार घोषणा गरेसँगै ५ जनाको उम्मेदवारी परेको हो ।
उनीसँगै गुलाबजंग शाह, मीनबहादुर शाही, राजबहादुर शाही, प्रकाश रोकायको उम्मेवारी परेको हो ।
यसअघि एमालेले लुम्बिनी प्रदेश अधिवेशन सम्पन्न गरिसकेको छ भने अरु प्रदेशको अधिवेशनपनि असोज तेस्रो अन्तिम साताभित्र सक्ने एमालेको तयारी छ ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफू नेतृत्वको पार्टीलाई बहुमतसहित सातै प्रदेशमा विजय गराउनुपर्ने बताएका छन् । एमाले कोशी प्रदेशको अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले पार्टीले लिएको ‘मिशन–८४’ अन्तर्गत प्रत्येक टोल, वडा, जिल्ला, प्रदेश र सङ्घमा ५१ प्रतिशत मतका साथ पार्टीलाई विजयी गराउन निर्देशन दिए ।
००००
पहिलोपटक अभ्यास गरेको प्रदेश संरचनाको नेतृत्वमा सर्वसम्मतिबाट नेतृत्व चयन गर्न अध्यक्ष केपी शर्मा ओलीले दिएको निर्देशन एकपछि अर्को प्रदेशमा तोडिएको छ ।
ओलीले कुनै पनि हालतमा सहमति गर्न दबाब दिएको लुम्बिनी प्रदेशमा मा गत भदौ २० गते उनी पक्षीय उम्मेदवार पराजित हुन पुगेका थिए । अध्यक्ष ओलीले हरि रिजाललाई सर्वसम्मत बनाउन दबाब दिए पनि अन्ततः उपाध्यक्ष विष्णु पौडेल निकटका राधाकृष्ण कँडेल २ मतले जित्न पुगेका थिए । ओली प्रत्यक्ष नदेखिए पनि पौडेलविरुद्ध महासचिव शंकर पोखरेलले रिजाललाई जिताउन गरेको अधिकतम कदम खेर गएको थियो ।
००००
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । शुक्रवार बसेको बैठकले कांग्रेसले विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री भएको मितिले २० दिन भित्रमा विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ । यसर्थ असोज २० गतेभित्र मुख्यमन्त्री कार्कीले विश्वासको मत लिइसक्नु पर्नेछ । कार्की भदौ २२ गते मुख्यमन्त्री बनेका थिए ।
००००
प्रधानमन्त्री प्रचण्ड अमेरिका र त्यसपछि चीनको भ्रमण पुरा गरेर शनिबार स्वदेश फर्किन लागेका छन् । उनी चीनको छेन्दुबाट आज स्वदेश फर्किन लागेका हुन् ।
००००
अभिनेता अनमोल केसी पक्राउ परेका छन् । रावायण नामक चलचित्रमा भएको विवादलाई लिएर निर्माता समूहले उनीविरुद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।
००००
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति भएको छ ।
आज शिक्षा मन्त्रालयमा भएको सहमतिमा शिक्षा मन्त्री अशोक राई र संर्घष समितिको तर्फबाट खेम अधिकारी लगायतले हस्ताक्षर गरेका छन् ।
००००
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भइसकेका प्रमुख प्रशासकीय अधिकृतहरूलाई सात दिन भित्र रमाना लिई स्थानीय तहमा हाजिर हुन निर्देशन दिएको छ ।
स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्न खटाइएका संघीय निजामती कर्मचारीहरू प्रचलित कानून बमोजिम सरुवारपदस्थापन कामकाज काजमा खटाइएका र काज फिर्ता गरिएका निकाय कार्यालयमा रमाना भई जानुपर्नेमा हालसम्म पनि रमाना नलिएका कारण मन्त्रालयले उक्त निर्देशन दिएको हो ।
००००
नेकपा एकीकृत समाजवादीले यही असोज १४ गतेदेखि समाजवादी जागरण अभियान २०८० सञ्चालन गर्ने भएको छ ।
असोज १४ गते झापाको काँकडभिट्टास्थित मेची नदीबाट बिहान ९ बजेदेखि शुरू हुने उक्त अभियान असोज २९ गते सुर्खेत पुगेर सभा गरी सम्पन्न हुने पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
००००
अर्थ समितिको कार्यविधि, २०८० स्वीकृत भएको छ । मस्यौदामाथि दफावार छलफलपछि समितिको शुक्रबारको बैठकले कार्यविधि स्वीकृत गरेको सभापति सन्तोष चालिसेले जानकारी दिए ।