
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा निर्देशक श्रेष्ठ, जिल्ला शिक्षा अधिकारी, प्रधानाध्यापक तथा शिक्षकविरुद्ध शुक्रवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका बाराको राम प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक एवं नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका पूर्वशिक्षक योगेन्द्रप्रसाद यादवलाई बर्खास्त नगरी उल्टै निवृत्तिभरणबापत १६ लाख ९२ हजार दुई सय ६९ रुपैयाँ २५ पैसा बराबरको रकम दिलाएर सरकारी सम्पत्ति हानीनोक्सानी पुर्याएको आरोप उनीहरूमाथि मुद्दा दायर गरिएको हो ।
यो प्रकरणमा बाराको साबिक जिल्ला शिक्षा कार्यालय तथा हालको शिक्षा विकास तथा समन्वय इकाइका विद्यालय निरीक्षक बृजकिशोर यादव, नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक धर्मेन्द्रप्रसाद यादव, सोही विद्यालयका अर्का तत्कालीन प्रधानाध्यापक चेथारुप्रसाद कुर्मी, बाराको तत्कालीन जिल्ला शिक्षा अधिकारी तुलाराम भण्डारी र तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका शाखा अधिकृत बेदप्रसाद पौडेलका साथै पूर्व शिक्षक यादव र कामु निर्देशक श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर योगेन्द्रलाई निवृत्तिभरणबापतको रकम दिलाउन पहिलो भूमिका कुर्मीले गरेको अख्तियारको दाबी छ ।
आयोगका अनुसार कुर्मीले हाजिरी किताब, बैठक पुस्तिका, तलबी भरपाई लगायत सरकारी कागजात लुकाउने तथा नष्ट गरेको थिए । त्यस्तै वृजकिशोरले योगेन्द्रलाई निलम्बनको प्रक्रिया अगाडि नबढाइ उल्टै तलब निकासा गरेको आयोगको दाबी छ ।
यस्तो छ आयोगको अभियोग पत्र