
दुईजना प्रहरीलाई आक्रमण गरेर कुटपिट गरी हतियार लुटपाट गर्ने ५ जना अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
मोरङ अदालतले शुक्रवार सुनसरी र मोरङमा श्रृंखलाबद्ध लुटपाट गर्ने ५ जनाको समूहलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो ।
मोरङ बूढीगंगा गाउँपालिका ५ का २४ वर्षीय मोहम्मद नजरुल मियाँ, सोही ठाउँका ४० रिजवान मियाँ, सुनसरी दुहबी नगरपालिका– १ का वर्ष ३१ वर्षका मोहम्मद अलि मुरताजा मियाँ, ३० वर्षीय नजरूल मियाँ र दुहबी नगरपालिका– ६ का वर्ष ४० का मोहम्मद आलम पुर्पक्षका लागि कारागार चलान गरिएको मोरङ जिल्ला अदालतले शुक्रवार जानकारी दिएको छ ।
पाँच जनाको समूहले भदौ २ गतेदेखि २२ सम्म मोरङ र सुनसरीमा श्रृंखलाबद्ध लुटपाट गरेका थिए । भदौ २२ गते विशेष प्रहरी परिचालन गरेर ७ जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिएकामध्ये एकजना नाबालक रहेका थिए भने ३० वर्षीय सिजाम आलमलाई अदालतले १ लाख धरौटी तोकेको छ ।
प्रहरीले रिजवान मियाँ र नजरुल मियाँको घरमा लुकाइ–छिपाइ राखेको अवस्थामा कटुवा पेस्तोल १ थान, प्रहरीबाट लुटिएको चाइनिज पेस्तोल १ थान, मोबाइल फोन थान १६, मेमोरी कार्ड १२ थान, नेपाली नगद १ लाख ७५ हजार २७५, ११ हजार ६०० भारतीय रुपैयाँ र २ मोटरसाइकलसमेत बरामद भएको थियो । प्रहरीले उनीहरूलाई डाँका चोरी र सङ्गठित अपराध मुद्दा चलाएको थियो ।
जेल गएको समूहले सुनसरीमा ड्युटीमा खटिएका प्रहरीको पेस्तोल र म्यागेजिन लुटेका थिए ।
सुनसरीको दक्षिण क्षेत्रमा चोरी तस्करी बढेपछि प्रहरी केही दिनयता विशेष अप्रेसनमा सादा पोसाकमा खटिने गरेका थिए । सीमावर्ती क्षेत्रमा हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा त्यससम्बन्धी सूचना सङ्कलन गर्न प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई प्रहरीले खटाएको थियो ।
लुटेराले उनीहरूलाई कुटपिट गरी साथबाट हातहतियार लुटेर लगेका थिए ।