२७ जेठ २०८३, बुधबार

मदन पुरस्कार विजेता ओझालाई गृहनगरमा सम्मान

मंसिर ४, २०८०
काठमाडौं
मदन पुरस्कार विजेता ओझालाई गृहनगरमा सम्मान

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, हाम्रो पत्र डटकमलगायका सङ्घसंस्थाले दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेका हुन् । 

 लेखक ओझाले ऐँठन एउटा युद्ध उपन्यास भएको बताए । उनले ऐँठन उपन्यास महाभारत, विश्व युद्ध र नेपालको सशस्त्र युद्धलाई समेटेर लेखिएकाले यो एउटा युद्ध उपन्यास भएको बताए । 'मैले युद्धपछि पीडामा रहेकाहरूलाई देखेँ, भेटेँ, उनीहरूको मानसिक अवस्था विचलित भएको पाएँ,' उनले भने, 'विश्वकै कुरा गर्दा पनि हतियार, हिंसा र द्वन्द्वमा धेरै खर्च भइरहेको छ । यो लगानी विकासमा गर्न सकेको भए विश्व अर्कै हुन्थ्यो भन्ने मैले महसुस गरेँ । गाउँ गाउँमा गएर पीडामा रहेकाको कथा समेटेको छु ।'

लेखक ओझाले पहिले कथाका लागि तयार गरिएको पाण्डुलिपीलाई अध्ययन गर्दै जाँदा उपन्यास तयार भएको र उपन्यासको पूर्णरूप दिन पाँच वर्ष लागेको बताए ।

टीकापुर बहुमुखी क्याम्पसका सहप्राध्यापक केशरबहादुर कुँवरले ओझाको पुस्तकले पुरस्कार मात्र प्राप्त नभई टीकापुरलाई चिनाउने र पुरस्कृत गर्ने काम गरेको बताए ।

लेखक ओझाको पहिलो कृति ‘एक पाइला आकाशमा’ गजल सङ्ग्रह २०७० सालमा प्रकाशित भएको थियो । त्यसपछि उनले २०७४ सालमा ‘ऐलानी’ उपन्यास लेखे । विसं २०४८ जेठ २ गते अछामको साविक दर्ना गाविसमा जन्मिएका ओझाको बाल्यकाल टीकापुरमा बित्यो । उनले माध्यमिक तहसम्मको शिक्षा टीकापुरबाटै प्राप्त गरेका थिए । पछि काठमाडौँ गएर ओझाले आफ्नो लेखनलाई अगाडि बढाउँदै व्यवस्थापन विषयमा स्नातकोत्तर गरे ।

 

salt training

कमेन्ट गर्नुहोस्