
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको जोखिममा परेका मुलुकले भोग्नुपरेका समस्या सम्बोधन गर्न ढिला गर्न नहुने बताएका छन् ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी भएर आइतवार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले कोप २८ मा सम्बोधनका क्रममा आफूले जलवायु परिवर्तनको जोखिममा परेका अति कम विकसित मुलुकले भोग्नुपरेका समस्याबारे जानकारी गराएको बताए ।
साथै अति कम विकसित मुलुकले भोग्नुपरेका समस्या सम्बोधन गर्नका लागि वित्तीय लगानी र प्रविधिको परिचालनमा विलम्ब गर्न नहुनेमा आफूले जोड दिएको उनको भनाइ थियो ।
सम्मेलनमा भाग लिन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि आफ्नो भेटवार्ता भएको जानकारी दिँदै उनले पश्चिमी क्षेत्रमा भूकम्पले पारेको प्रभावका बारेमा माेदीले चासो दिएका जानकारी दिए ।
साथै मोदीले भूकम्प पीडितलाई आवश्यक सहयोग उपलब्ध गराउन भारत तत्पर रहेको बताएका उनले सञ्चारकर्मीसँग भने ।