
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
मौद्रिक नीतिको त्रैमासिक समीक्षासँगै अधिकांश बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । पुस महिनाका लागि बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार दुई वटा बैंकको ब्याजदर स्थिर रहेपनि अन्य बैंकहरुको ब्याजदर भने ऋणत्मक रहेको हो । २० बाणिज्य बैंकमध्ये सबैभन्दा बढी ब्याजदर हिमालयन बैंकले १.९९७ प्रतिशत ब्याजदर घटाएको छ ।
००००
आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले १२ वटा राजनीतिक दललाई दर्ता गरी तिनलाई निर्वाचन चिह्न प्रदान गरेको छ ।
नेपालको संविधानको धारा, २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम ती दल दर्ता भएका हुन् । दर्ता भएका दलहरुका लागि २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतका आधारमा क्रम निर्धारण गरी निर्वाचन चिह्न प्रदान गरिएको हो ।
००००
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमको भूमिस्थ सेवा (ग्राउण्ड ह्याण्डलिङ) बारे औपचारिक रूपमा मन्त्रालयमा कुनै छलफल तथा आधिकारिक निर्णय नभएको बताएका छन् ।
निगमको ग्राउण्ड ह्याण्डलिङको अधिकार खोस्न लागिएको भन्दै निगम सम्बद्ध क्रियाशील ट्रेड युनियनहरू आन्दोलित बनेको बेला मन्त्रीको तर्फबाट सचिवालयले यस विषयमा नेपाल सरकारले निर्णय नगर्दा सम्म वायुसेवा निगमको भूमिस्थ सेवा यथावत् रहने स्पष्ट गरेको छ ।
सचिवालयले निगम सम्बद्ध सम्पूर्ण क्रियाशील ट्रेड युनियनहरूलाई आन्दोलनका सबै गतिविधि रोकी तत्कालै काममा फर्किन समेत आग्रह गरेको छ ।
००००
नेकपा एमालेले पश्चिम नेपालको बैतडी जिल्लास्थित झुलाघाटबाट सुरु गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ आइतबार पाँचथरको चिवाभन्ज्याङ पुगेर औपचारिक रूपमा समापन भएको छ ।
००००
शिक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा सानोठिमीमा आइतबार दिनभर सयौँ विद्यार्थीले नाराबाजी गर्दै धर्ना दिएका छन् ।
विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई आवश्यक पर्ने नो अब्जेक्सन लेटर अर्थात् एनओसी लिन गएका विद्यार्थीले विगत चार दिनदेखि धाउनुपरेको भन्दै दिनभर नाराबाजी गरेका हुन् ।
००००
नेपाल सरकारले कुवेतका अमिरको निधनमा सोमबार शोक मनाउने निर्णय गरेको छ । अमिर शेख नवाफ अल अहमद अल जावेर अल सबाको सम्मानमा पुस २ गते अर्थात सोमबार शोक मनाउने तय भएको गृह मन्त्रालयले जनाएको छ ।
००००
सरकारले करिब पाँच हजार भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा उपलब्ध गराएको छ । सरकारले उनीहरूलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि पूर्जा वितरण गरेको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेशप्रसाद भट्टले जानकारी दिए ।
००००
बाजुराको बडीमालिका नगरपालिका–२ खडीगाडमा आइतवार साँझ ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
मार्तडीबाट गौमुल गाउँपालिकाको घटमुना जाँदै गरेको लु ४ त ७३०५ र सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्याक्टरले एकअर्कालाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए ।
००००
सरकारले उखु किसानलाई भुक्तानी दिन बाँकी ५२ करोड रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा आइतबार बसेको सरोकारवाला मन्त्रालयका मन्त्री र सचिवको बैठकले उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए ।
००००
नेपाल स्टक एक्सचेञ्ज परिसूचक २७ दशमलव ७५ अङ्कले बढेको छ ।
आइतबार एक दशमलव ३९ प्रतिशतले बढेसँगै नेप्से परिसूचक दुई हजार २२ दशमलव ३५ अङ्कको बिन्दुमा कायम भएको हो ।
००००
चालू आर्थिक वर्ष २०८०–८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ ।
महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार गत मङ्सिर मसान्तसम्ममा सरकारले गरेको आम्दानीभन्दा खर्च बढी देखिएको छ ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा पुँजी निर्माण हुन नसकिरहेको अन्यौलपूर्ण अवस्थामा पनि सत्तापक्ष र प्रतिपक्षसमेत मिलेमतोमा कमाउधन्दामा लाग्नु दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।
काठमाडौंको धुम्बाराहीस्थित एसआर बैंक्वेटमा आइतवार अपरान्ह जारी केन्द्रीय कार्यसमितिको बैठकमा उनले भ्रष्टाचारका हरेक काण्डमा दलका नेताहरूको संलग्नता देखिनुले राजनीतिप्रति वितृष्णा पैदा गर्दै गएको भन्दै चिन्तासमेत व्यक्त गरे ।
००००
संघीय संसद् सचिवालयले सभामुख–उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष तथा पदाधिकारी गरी ३५ जनालाई सरकारी गाडी र इन्धन सुविधा उपलब्ध गराउँदै आएको पाइएको छ । संसदीय समितिका सभापतिदेखि राष्ट्रिय दलको मान्यता प्राप्त दलका सचेतकसम्मलाई सरकारी गाडी बाँडिएको छ ।