काठमाडौं, २४ मंसिर — न्युजिल्यान्डविरुद्धको तीन एकदिवसीय म्याचको शृंखलाको अन्तिम म्याच पनि जित्दै अस्ट्रेलियाले क्लिन स्वीप गरेको छ ।

मेलबर्नमा शुक्रवार भएको खेलमा अस्ट्रेलिया ११७ रनले विजयी भयो ।
पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले डेभिड वार्नरको १५६ रनको मद्दतले आठ विकेटको क्षतिमा २६४ रन बनायो । वार्नरका अलावा ट्राभिस हेडले ३७ र जर्ज बेलीले २३ रन बनाए ।
जवाफमा न्युजिल्यान्डका ब्याट्स्म्यानले कुनै पनि बेलामा खुलेर खेल्न सकेनन् र पूरै टिम ३६.१ ओभरमा १४७ रनमा अलआउट भयो । अस्ट्रेलियाका लागि सबै बलरले विकेट लिए । मिचेल स्टार्कले सर्वाधिक तीन विकेट लिए ।
न्युजिल्यान्डका लागि मार्टिन गुप्तिलले ३४ र टम लाथमले २८ रन बनाए ।
शतक लगाएका वार्नर म्यान अफ द म्याच र म्यान अफ द सिरिज छानिए ।
अस्ट्रेलिया पहिलो एकदिवसीयमा ६८ रनले अनि दोस्रोमा ११६ रनले विजयी भएको थियो ।