
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा दीपक काफ्लेले पर्यटन प्रवद्र्धनका लागि नयाँ सोच र जागरका साथ लाग्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन्।
बोर्डका अध्यक्षसमेत रहेका सचिव डा काफ्लेको स्वागतार्थ आज बोर्डमा आयोजित कार्यक्रममा उहाँले बोर्डलाई चलायमान बनाउन आवश्यक नीतिगत निर्णय गर्ने विश्वास व्यक्त गरे।
सचिव डा काफ्लेले नेपाल गौतमबुद्धको जन्मस्थल र विश्वको सर्वोच्च शिखर सगरमाथाजस्ता विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य भएको मुलुक भएको उल्लेख गर्दै प्रभावकारीरुपमा नेपालको बजारीकरण गर्नसके यसबाट प्रशस्त लाभ दिन सकिने बताए ।
कोशी प्रदेश सचिवका रुपमा रहेका डा काफ्ले केही दिनअघिमात्रै पर्यटन मन्त्रालयको सचिवको जिम्मेवारीमा आएका थिए । उनलाई बोर्डकोतर्फबाट स्वागत गर्दै कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले कोभिडपछि पुरानै लयमा फर्किएको नेपालको पर्यटन चलायमान बनाउन आवश्यक नीतिगत सहजीकरण गरिदिन आग्रह गरे ।